उद्योग वाणिज्य महासङ्घमा अञ्जन श्रेष्ठ समूहबाट शर्मा र श्रेष्ठ उपाध्यक्ष(जिल्लानगर)का उम्मेदवार


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा र बागमती प्रदेशका अध्यक्ष दिलकुमार श्रेष्ठ वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको समूहबाट जिल्ला/नगर उपाध्यक्षको उम्मेदवार बन्ने पक्का भएको छ ।

प्रदेशको नेतृत्व गरिरहेका दुबैजना केन्द्रीय उपाध्यक्षका लागि दौड सुरु गरेका छन् ।

उम्मेदवारी तय भएसँगै उपाध्यक्षका दुबै उम्मेदवार चुनावी प्रचारमा लागेका छन् । शर्मा र श्रेष्ठ दुबैले आफूहरू उम्मेदवार बन्ने निश्चित भएको बताए ।

शर्माले भने,“म यसपटक जिल्ला/नगर उपाध्यक्षको दाबेदार हो र उम्मेदवार बन्ने पनि तय भएको छ ।”

शर्माको लुम्बिनी प्रदेशको अध्यक्ष यो दोस्रो कार्यकाल हो ।

उपाध्यक्षका उम्मेदवार शर्माले भने,“मैले प्रदेशको नेतृत्व दुईपटक गरे,अब केन्द्रमा गएर आफ्नो तर्फबाट उद्योगी व्यवसायीको हकहितमा केही गर्ने चाहना छ ।”

महासङ्घको बागमती प्रदेश अध्यक्ष श्रेष्ठले पनि आफू वरिष्ठ उपाध्यक्ष श्रेष्ठको समूहमा जिल्ला/नगर उपाध्यक्षको उम्मेदवार तय भएको बताए ।

उनले भने,“हो म उपाध्यक्षको उम्मेदवार हो । म अहिले प्रदेशका साथीभाईहरूसँग भेटघाट गरिरहेको छु ।”

श्रेष्ठले आफूले चुनावी प्रचार सुरु गरिसकेको जानकारी दिए ।

नयाँ संसोधित विधानअनुसार जिल्लानगरबाट उपाध्यक्ष २ जना रहने व्यवस्था गरिएको छ । यसअघि याे क्षेत्रबाट १ जनामात्रै उपाध्यक्ष रहने व्यवस्था थियाे ।

वर्तमान वरिष्ठ उपाध्यक्ष श्रेष्ठको समूहमा वस्तुगतका उपाध्यक्षका उम्मेदवार शिवप्रसाद घिमिरे छन् भने एसोसिएट उपाध्यक्षकाे उम्मेदवार प्रबलजंग पाण्डे छन् ।

चैत २८ र २९ गते हुने महासङ्घको साधारण सभाबाट नयाँ नेतृत्व चयन हुँदै छ ।

विधान त अबको अध्यक्ष स्वत : अञ्जन श्रेष्ठ हुँदैछन् । खुल्ला रुपमा नदेखिए पनि श्रेष्ठले आफ्नो कार्यकालका लागि टिम बनाउन कसरत गरिरहेका छन् ।

यो समूहले कार्यसमितिमा रहने १४ जना उम्मेदवारको नाम टुङ्ग्याएको छ । सदस्यहरूमा रबिन पुरी, राजकुमार कार्की, बसन्त चन्द्र मारथ्या, रघुनन्दन मारु, सुनिता न्हेमाफुकी, होमप्रसाद घिमिरे, ,राजेशभक्त श्रेष्ठ, बिप्लव अधिकारी, अरनिको राजभण्डारी, रेशमप्रसाद देवकोटा, संघर्ष विष्ट,विश्वनाथ खनाल, धनप्रसाद लामिछाने र सरस्वती राईको नाम उम्मेदवारको लागि तय भएको छ । २ जनाको नाम भने अझै स्पष्ट भइसकेको छैन ।

समिकरणमा फेरबदल नभए यो समूहले लगभग चुनावी टिम तयार पारिसकेको छ ।