काठमाडाैँ । स्याङ्जामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै प्रशासनले इजाजत प्राप्त हातहतियार सङ्कलनलाई तीव्र बनाएको छ।
निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित जारी गरिएको सूचनापछि हालसम्म ३६ थान हतहतियार प्रहरी प्रशासनमा बुझाइएको छ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले १५ दिने सूचना जारी गर्दै नागरिकसँग रहेका इजाजत प्राप्त हातहतियार अस्थायी रूपमा प्रहरीलाई बुझाउन आग्रह गरेको थियो।
सोही अनुरूप ११ थान राइफल, ११ थान सटगन, १२ थान भरुवा तथा अन्य दुई थान हतियार प्रहरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएकाे छ ।
प्रशासनका अनुसार जिल्लामा इजाजत लिएर हतियार राख्नेको सङ्ख्या १ सय १८ पुगेको छ। हतियारधारी नागरिकलाई आफूलाई पायक पर्ने नजिकको प्रहरी चौकीमा माघ २० गतेभित्र हतियार बुझाउन आग्रह गरिएको भए पनि तोकिएको म्याद सकिँदा पनि सबै हतियार सङ्कलन हुन सकेका छैनन्।
प्रशासनले हतियार नबुझाउने व्यक्तिको हकमा अब जिल्ला सुरक्षा समितिबाट आवश्यक निर्णय गरिने जनाएको छ। हरेक निर्वाचनका समयमा हतियार खरखजाना ऐन २०१९ को दफा ८ अनुसार इजाजत प्राप्त हतियार अस्थायी रूपमा प्रहरीलाई बुझाउने व्यवस्था रहेको प्रशासनले स्पष्ट पारेको छ।
निर्वाचन सम्पन्न भएपछि तोकिएको समयावधि भित्र सम्बन्धित व्यक्तिलाई हतियार फिर्ता गरिने प्रशासनको भनाइ छ। शान्तिपूर्ण र निष्पक्ष निर्वाचनका लागि सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको भन्दै प्रशासनले नागरिकलाई नियम पालना गर्न आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस्