बहुसूचक सर्वेक्षण सार्वजनिकः सुदूरपश्चिममा शिशु तथा बाल मृत्युदर उच्च


काठमाडाैँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ को पूर्ण नतिजा प्रतिवेदन सार्वजनिक गरेको छ । 

तथ्याङ्क कार्यालयले सोमवार सार्वजनिक गरिएको प्रतिवेदनअनुसार नेपालमा प्रति १ हजार जीवित जन्ममा २७ शिशुको एक वर्ष नपुग्दै मृत्यु हुने गरेको देखिएको छ ।

५ वर्षमुनिका बालबालिकाको मृत्युदर ३१ पुगेको छ । साथै नवजात शिशुहरूमध्ये १ महिना उमेर नपुग्दै १७ जना शिशुको मृत्यु हुने गरेको तथ्याङ्क कार्यलयले सार्वजानिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रदेशगत तथ्याङ्कअनुसार नवजात शिशु तथा बाल मृत्यु दर सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी रहेको छ । सुदूरपश्चिममा प्रति १ हजार जन्ममा २६ बालमुत्यु हुने गरेको छ भने सबैभन्दा कम वागमती प्रदेशमा १० जना रहेको छ ।

शिशु मृत्युदर पनि सुदूरपश्चिममा सबैभन्दा बढी ३८ र वागमतीमा सबैभन्दा कम १७ देखिएको छ । पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर समेत सुदूरपश्चिममा ४८ पुगेको छ भने सबैभन्दा कम गण्डकी प्रदेशमा २० जना रहेको छ ।

नेपालको कुल प्रजनन दर प्रतिमहिला १ दशमलब ९ मा झरेको छ । तर १५–१९ वर्षका किशोरीहरूमा प्रति १ हजारमा ४८ जनाले जीवित बच्चा जन्माएको पाइएको छ । यो तथ्याङ्कले किशोरी गर्भधारण अझै चुनौतीको रूपमा रहेको देखाउँछ । २०–२४ वर्ष उमेर समूहका ११.२ प्रतिशत महिलाले १८ वर्ष नपुग्दै बच्चा जन्माएको पाइएको छ ।

गत दुई वर्षभित्र सन्तान जन्माएका महिलामध्ये ८५ प्रतिशतले कम्तीमा चार पटक गर्भजाँच गराएको छन् । ९०.५ प्रतिशतले स्वास्थ्य संस्थामै सुत्केरी गराएको र २५.३ प्रतिशतले शल्यक्रियाबाट सुत्केरी गराएको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

बाल पोषणमा गम्भीर अवस्था

सर्वेक्षण प्रतिवेदनअनुसार ५ वर्षमुनिका बालबालिकामध्ये ३१.५ प्रतिशत पुड्कोपन र २४.३ प्रतिशत तौल कमी (लिखुरेपन) को समस्यामा छन् । मधेस प्रदेशमा तौल कमी भएका बालबालिकाको प्रतिशत सबैभन्दा बढी ३३.२ रहेको छ भने सबैभन्दा कम बाग्मतिमा ९.६ प्रतिशत रहेको छ ।

यस्तै ६ महिनासम्म आमाको दूध मात्र खुवाउने दर ६९.७ प्रतिशत रहेको छ भने १२–२३ महिनाका बालबालिकामध्ये ८०.७ प्रतिशतले मात्र सबै खोप पूरा गरेका छन् ।

आधारभुत विद्यालय कक्षा (१–५) को १ कक्षामा प्रवेश गर्ने उमेरका बालबालिकाहरू ४१.२ प्रतिशत रहेको छ । ८५.४ प्रतिशत ५ वर्षमुनिका बालबालिकाहरूको जन्मदर्ता गरिएको सर्वेक्षणमा उल्लेख छ । 

९६.७ प्रतिशत घरमा विद्युत, इन्टरनेट प्रयोग ८२ प्रतिशत

सर्वेक्षणअनुसार ९६ दशमलब ७ प्रतिशत घरपरिवारमा विद्युत सेवामा पहुँच पुगेको छ । प्रदेशगत रूपमा गण्डकी प्रदेशमा पहुँच सबैभन्दा बढी ९९ दशमलव ५ प्रतिशत र कर्णालीमा सबैभन्दा कम ८० दशमलब ८ प्रतिशत रहेको छ ।

टेलिफोन सेवा ९५ दशलमलब ५ प्रतिशत घरपरिवारको पहुँच छ भने इन्टरनेट सुविधा भएको उपकरण प्रयोग गर्ने घरपरिवार ८२ प्रतिशत पुगेका छन् ।

सर्वेक्षणअनुसार नेपालमा ५.१ प्रतिशत तथा ४१.८ प्रतिशत क्रमशः १५–४९ वर्ष उमेर समूहका महिलाहरू तथा पुरुषहरूले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेका छन् ।

नेपालको कूल जनसङ्ख्याको ९८.२ प्रतिशतले खानेपानीको लागि सुधारिएको पानीको स्रोत प्रयोग गरेका छन् भने ९२.४ प्रतिशतले सुधारिएको चर्पीहरूको प्रयोग गर्ने गरेका छन् ।

स्वास्थ्य बिमामा न्युन सहभागिता

१५–४९ वर्ष उमेर समूहका महिलामध्ये १७.८ प्रतिशत र पुरुषमध्ये १९.६ प्रतिशतले मात्र स्वास्थ्य बिमा गरेका छन् । पाँच वर्षमुनिका बालबालिकामा यो दर ११.७ प्रतिशत मात्र रहेको छ । 

तथ्याङ्क कार्यालयकाअनुसार यो सर्वेक्षण युनिसेफ नेपालको प्राविधिक तथा आर्थिक सहयोगमा सञ्चालन गरिएको नेपालको चौथो बहुसूचक सर्वेक्षण हो ।

यस सर्वेक्षणले संघ, प्रदेश र स्थानीय तहमा नीति निर्माणका लागि महत्वपूर्ण आधार प्रदान गर्ने विश्वास लिइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले महिला तथा बालबालिकाको अवस्था मूल्याङ्कन, नीति निर्माण र दिगो विकास लक्ष्य (एसडिजीएस) का सूचकहरूको अनुगमन गर्ने उद्देश्यले सर्वेक्षण गरेको हो ।