जनकपुर–अयोध्या सिधा उडानमार्फत मधेस पर्यटन प्रवर्धनको योजना अघि बढ्यो


काठमाडाैँ । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले जनकपुरधामलाई धार्मिक र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न भारतको अयोध्यास्थित राम मन्दिरसँग सिधा हवाई उडानमार्फत जोड्ने पहल अघि बढाइएको बताएका छन्।

मिथिला मध्यमा परिक्रमाको अवसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री यादवले यस पहलले मधेस प्रदेशको पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे।

उनका अनुसार प्रदेश सरकारले मधेस प्रदेशलाई रामायण सर्किटसँग जोड्दै जनकपुर र अयोध्याबीचको सम्बन्ध प्रगाढ बनाउने योजना अघि सारेको छ।

उनका अनुसार सीता सर्किट र रामायण सर्किटलाई सफलतापूर्वक जोड्न सकेमा जनकपुर मात्र नभई सिंगो मधेस प्रदेशको विकास हुने र अन्तर्राष्ट्रिय स्तरमा पर्यटकीय गन्तव्यको रूपमा यस क्षेत्रको पहिचान बन्ने अपेक्षा गरिएको छ।

मुख्यमन्त्री यादवले यो योजना मूर्त रूप दिन छिट्टै भारत भ्रमण गर्ने र त्यहाँका सम्बन्धित निकायहरूसँग समन्वय गरी कामलाई तिब्रता दिने जानकारी पनि दिएका छन्।

उनले भने, “अब आगामी वर्षका लागि हामी सरकारको भुमिका निर्धारण गर्छौं। खासगरी जनकपुर स्थललाई राम सर्किटसँग जोड्ने हाम्रो प्रयास छ। यदि सिधा अयोध्या उडानमार्फत सीता सर्किट र रामायण सर्किटलाई जोड्न सकिन्छ भने, जनकपुर मात्र नभई मधेस प्रदेशको पनि विकास हुनेछ र यो प्रदेश अन्तर्राष्ट्रिय पर्यटकीय स्थलको रूपमा चिनिनेछ। मैले सम्बन्धित निकायबाट सकारात्मक आश्वासन पाएको छु र प्रक्रिया तत्काल अगाडि बढाइनेछ।”

यसै क्रममा, जनकपुर विमानस्थलको स्तरोन्नति र विस्तारका लागि संघीय सरकारसँग पनि समन्वय भइरहेको छ। विमानस्थल विस्तार पश्चात् अयोध्याबाट सिधा उडान सञ्चालन गर्न सके दैनिक ५ सय भन्दा बढी भारतीय दर्शनार्थी माता सीताको दर्शनका लागि जनकपुर आउने अपेक्षा गरिएको छ। मुख्यमन्त्री यादवले स्वच्छ, हराभरा जनकपुरको अवधारणा पनि अघि बढाउने र यसलाई विश्वस्तरमा चिनाउने लक्ष्य रहेको बताए।