काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र नेपालीको शान, गौरव र प्रतिष्ठा बढाउन शेर्पा समुदायको योगदान उल्लेखनीय रहेको बताएका छन् ।
नेपाल शेर्पा संघले मंगलबार आयोजना गरेको ग्याल्पो ल्होसार २१५३ औँ मे फो त ल्हो (नयाँ वर्ष) शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले शेर्पा समुदायको योगदान गर्वको विषय भएको बताएका हुन् ।
हिमाली क्षेत्रबाट उद्गम भएको शेर्पा समुदाय आज विश्वभर फैलिएर नेपाललाई चिनाउन सफल भएको उनको भनाइ छ । पर्यटन र पर्वतारोहण क्षेत्रमा विश्वव्यापी ख्याति कमाएको शेर्पा समुदाय इमान्दार, परिश्रमी र प्रकृतिप्रेमी जातिका रूपमा परिचित रहेको उनले बताए ।
शेर्पा समुदायको मौलिक पहिचान, संस्कृति र राष्ट्रिय योगदानको उच्च प्रशंसा गर्दै उहाँले नेपालको मौलिक पहिचान भनेकै यहाँका विभिन्न जातजाति, भाषाभाषी, संस्कृति, रहनसहन, परम्परा र चाडपर्व भएको उल्लेख गरे ।
हिमाल, पहाड र तराईको अनुपम भौगोलिक–सांस्कृतिक विविधताबिच आफ्नै विशिष्ट परम्परा, संस्कृति, सभ्यता र पहिचान बोकेको शेर्पा समुदाय नेपालको आदिवासी समुदायका रूपमा महत्वपूर्ण रहेको बताए ।
राष्ट्रपतिले ल्होसार जस्ता चाडपर्वले आपसी सद्भाव, एकता, मित्रता र भ्रातृत्व अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने उल्लेख गरे । मौलिक नेपाली पहिचान अक्षुण्ण राख्दै राष्ट्रिय एकताको भावना सुदृढ बनाउनु सबैको साझा दायित्व भएको उनको भनाइ छ ।
हिमाली बौद्ध पात्रोअनुसार पहिलो महिनाको पहिलो दिन ग्याल्पो ल्होसार मनाइने परम्परा रहेको छ । यसै दिनबाट नयाँ ‘ल्हो’ वर्ग तथा संवत परिवर्तन भई नयाँ वर्ष आरम्भ हुने विश्वास गरिन्छ ।


प्रतिक्रिया दिनुहोस्