दमकमा ओलीको भेटघाट :’भ्युटावर’ आगजनीप्रति स्थानीय आक्रोश, पुनः सञ्चालनको माग


काठमाडाैँ । केपी शर्मा ओली सोमबार आफ्नो गृह क्षेत्र पर्ने दमक नगरपालिका–३ मा पुग्दा स्थानीयवासीले भव्य स्वागत गरेका छन्। स्वागतसँगै उनीहरूले चर्चित ‘भ्युटावर’ नामले चिनिने विजनेस कम्प्लेक्समा भएको तोडफोड र आगजनीप्रति आक्रोशसमेत व्यक्त गरेका छन्।

स्थानीय बिष्णुकान्त न्यौपानेले कम्प्लेक्सतर्फ संकेत गर्दै रातभरि झिलिमिली बल्ने भव्य संरचना तोडफोड गरी जलाइएको भन्दै दुःख व्यक्त गरे। उनका अनुसार उक्त संरचना सञ्चालनमा आएपछि टोलमा चहलपहल बढेको थियो, तर आगजनीपछि क्षेत्र नै सुनसान र अन्धकारजस्तो बनेको छ।

सरस्वता न्यौपानेले पनि राम्रो संरचना नष्ट गरिनु दुर्भाग्यपूर्ण भएको बताउँदै देशमै यस्ता घटनाहरू दोहोरिनु चिन्ताजनक रहेको प्रतिक्रिया दिइन्। स्थानीयहरूको गुनासो र भावनाले पूर्वप्रधानमन्त्री ओलीसमेत गम्भीर देखिएका थिए।

अन्य बासिन्दाले कम्प्लेक्स सर्वसाधारणका लागि खुला भएसँगै साना व्यवसाय फस्टाउन थालेको र आर्थिक गतिविधि बढेको स्मरण गरे। तर छोटो समयमै भएको तोडफोड र आगजनीका कारण खुल्दै गरेका आम्दानीका स्रोत बन्द भएको उनीहरूको भनाइ छ।

दमक–३ का स्थानीयले सो विजनेस कम्प्लेक्सलाई तत्काल मर्मत गरी पुनः सञ्चालनमा ल्याउनुपर्ने माग गरेका छन्।
अध्यक्ष ओलीले सोमबार दमकका विभिन्न वडा र टोलका मतदातासँग भेटघाट गरेका थिए। आज (मंगलबार) पनि उनी विभिन्न स्थानमा आयोजना हुने भेटघाट तथा छलफल कार्यक्रममा व्यस्त रहेका जनाइएको छ।