काठमाडौँ । नेपाल सरकारले मध्यपूर्वमा भइरहेको विकसित घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ ।
परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गरेर मध्यपूर्वमा भइरहेको विकसित घटनाक्रमलाई नजिकबाट हेरिरहेको भन्दै इजरायल र इरानमा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई सावधाी अपनाउन आग्रह गरेको छ ।
आज अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि मध्यपूर्वमा तनाव बढेको छ । परराष्ट्र मन्त्रालयले इजरायल तथा इरानका सम्बन्धित निकायहरूले जारी गरेको सुरक्षा परामर्श र निर्देशनहरू कडाइका साथ पालना गर्न भनेको छ ।
विज्ञप्तिमा भनिएको छ,“यथासम्भव घरभित्रै बस्नुहोस्, सतर्क रहनुहोस्, आवश्यक सावधानी अपनाउनुहोस्, तथा आफ्ना–आफ्ना क्षेत्रका नेपाली समुदायसँग नियमित सम्पर्कमा रहनुहोस् ।”
सरकारले इजरायल तथा इरानका सम्बन्धित अधिकारीहरूको अनुमति बिना कुनै प्रकारको यात्रा नगर्न भनेको छ ।
परराष्ट्र मन्त्रालयले कतार, इजरायलको तेलअभिवस्थित नेपाली दूतावास तथा काठमाडौँस्थित परराष्ट्र मन्त्रालयसँग नियमित सम्पर्कमा रहने इजरायल र इरानमा रहेका नेपालीलाई आग्रह गरेको छ ।
इजरायल वा इरान जाने तयारीमा रहेका नेपाली नागरिकहरूलाई दुवै देशको अवस्था सामान्य नभएसम्म आफ्नो यात्रा योजना स्थगित गर्न कडाइका साथ आग्रह सरकारले गरेको छ ।
अन्य मध्यपूर्वी मुलुकहरूमा बस्दै र काम गरिरहेका नेपाली नागरिकहरूले पनि स्थानीय निकायहरूले जारी गरेका सुरक्षा निर्देशनहरू ध्यानपूर्वक पालना गर्न तथा परिस्थितिको निरन्तर निगरानी गर्न सुझाव परराष्ट्र मन्त्रालयले आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्