भारत र क्यानडाले १० वर्षे आणविक उर्जा सम्झौता गरेका छन् । कूटनीतिक तनावका कारण भारत र क्यानडाको खस्किएको सम्बन्ध पुनस्र्थापित गर्न दिल्लीमा भेटेपछि १० वर्षे आणविक ऊर्जा सम्झौता सहित धेरै सम्झौताको घोषणा गरेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र क्यानडाली प्रधानमन्त्री मार्क कार्नीले प्रविधि, खनिज, अन्तरिक्ष, रक्षा र शिक्षा जस्ता क्षेत्रहरूमा सम्झौता गरेका छन् ।
२०२६ को अन्त्यसम्ममा वर्षौंदेखि बन्दै आएको स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गर्न सहमत भएको कार्नीले बताएका छन् । दुवै देशले दण्डात्मक अमेरिकी व्यापार शुल्कको जोखिम कम गर्न चाहेका छन् ।
कार्नीको नेतृत्वमा, दुई सरकारहरूले सम्बन्ध सुधार गर्ने प्रयास गरिरहेका छन् । क्यानडाका पुर्व प्रधानमन्त्री जस्टिन ट्रुडोले सन् २०२३ मा क्यानाडामा सिख पृथकतावादी हरदीप सिंह निज्जरको हत्यामा दिल्लीलाई आरोप लगाएपछि सम्बन्ध तनावग्रस्त थियो ।
यसमा दुवै पक्षले एकअर्काको कूटनीतिज्ञहरूलाई निष्कासन गरेका थिए भने भिसा सेवाहरू पनि रद्द गरेपछि व्यापार र कूटनीतिक सम्बन्ध लगभग ठप्प भएको थियो ।
क्यानडाको जासूसी एजेन्सीले गत वर्ष भारतलाई रूस, चीन र इरानसँगै देशमा जासूसी र विदेशी हस्तक्षेप गर्ने देशहरू मध्ये एकको रूपमा सूचीबद्ध गरेको थियो ।
दिल्लीमा भएको वार्तामा कार्नी र मोदी दुवैले भारत र क्यानडाको लामो समयदेखिको सम्बन्ध, पारस्परिक लक्ष्य र जनता–जनताबिचको घनिष्ठ सम्बन्धलाई जोड दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्