एशियन गेम्स प्रचारका लागि शनिवार फन रन हुने


काठमाडौँ । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एशियन गेम्सको प्रचारप्रसार उद्देश्यले शनिवार एसियाड फन रन आयोजना गर्ने भएको छ ।

ओलम्पिक काउन्सिल अफ एशिया (ओसिए) को कार्यक्रमअन्तर्गत आयोजना हुन लागेको उक्त फन रन आगामी २० औं एशियाली खेलकुदको प्रचारका लागि गर्न लागिएको हो । खेलकुदप्रति जनचेतना अभिवृद्धि र एकताको सन्देश दिने उद्देश्यले यसपल्ट पनि फन रन ललितपुरमा आयोजना हुँदैछ ।

आगामी २० औं एशियन गेम्स सन् २०२६ सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म जापानको नागोया र आइचीमा आयोजना हुँदैछ । शनिवार बिहान ७ः३० बजे शुरु हुने फन रन तीन किलोमिटर दूरीको हुनेछ । दौड पाटन दरबार स्क्वायर बाट शुरु भई विभिन्न स्थान हुँदै पुनः सोही स्थानमा पुगेर समाप्त हुने जनाइएको छ ।

कार्यक्रममा खेलाडी, प्रशिक्षक, ओलम्पियन, खेल संघका पदाधिकारी, कुटनीतिक क्षेत्रका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, विद्यार्थी तथा सर्वसाधारण गरी एक हजारभन्दा बढीको सहभागिता रहने अपेक्षा गरिएको छ ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले एशियाली खेलकुदको भावना, एकता र सहकार्यको सन्देश फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

एसियन फन रन विश्वभर आयोजना हुँदै आएको कार्यक्रम हो, जसले एसियाली खेलकुदको प्रचारप्रसारका साथै खेलकुदप्रति सकारात्मक सन्देश फैलाउने विश्वास आयोजकले लिएको छ । न्युज एजेन्सी नेपाल