भारतको व्यापार घाटा फेब्रुअरीमा कम,निर्यात–आयात दुबैमा सुधारको सङ्केत


काठमाडौँ । भारतको व्यापार घाटा फेब्रुअरी महिनामा २७.१ अर्ब डलरमा झरेको छ । जनवरीमा यो घाटा ३४.६८ अर्ब डलर थियो ।

भारतीय सञ्चार संस्था पिटिआईकाअनुसार निर्यातमा भएको वृद्धि र आयातमा आएको गिरावटले व्यापार घाटा काम भएको हो ।

फेब्रुअरीमा भारतले ३६.६१ अर्ब डलरका सामग्री निर्यात गरेको थियो यो जनवरीको ३६.५६ अर्ब डलरभन्दा बढी हो ।
आयात ७१.२४ अर्ब डलरबाट झरेर ६३.७१ अर्ब डलरमा आएको सरकारी तथ्याङ्कले देखाउँछ ।

चालु आर्थिक वर्षको पहिलो ११ महिनामा (अप्रिल–फेब्रुअरी) भारतको समग्र निर्यात १.८ प्रतिशत वृद्धि भई ४०२.९३ अर्ब डलर पुगेको छ ।

विश्वव्यापी अस्थिरता र ढुवानी–लजिस्टिक समस्या बढिरहेका बेला भारतीय निर्यातले यसरी निरन्तरता पाउनु सकारात्मक सङ्केतका रूपमा हेरिएको विश्लेषण गरिएको छ ।

फेब्रुअरीको अन्तिम सातादेखि मध्यपूर्वमा बढिरहेको तनावले भारतको बाह्य व्यापारमा प्रत्यक्ष असर पारेको छ ।

फेब्रुअरी २८ मा सुरु भएको अमेरिकाले र इजरायलले इरानविरुद्ध थालेको सैन्य कारबाहीपछि होरमूज जलडमरूमध्यसहितका प्रमुख समुद्री मार्गहरू प्रभावित बनेका छन् ।

यसले भारतीय निर्यात–आयातका ढुवानी मार्गमा ढिलाइ र लागत वृद्धि गरेको छ ।

व्यापार तथ्याङ्क सार्वजनिक गर्दै वाणिज्य सचिव राजेश अग्रवालले मध्यपूर्व सङ्कटका बाबजुद भारतीय निर्यातमा अपेक्षाकृत राम्रो भइरहेको बताए ।

मार्च महिनामा भने चुनौती अझै बढ्ने सम्भावना रहेकाले निर्यातमा कमी आउँन सक्ने आँकलन गरिएको छ ।