बढ्दो मध्यपूर्व द्वन्द्वका बीच आपूर्तिको चिन्ता कम गर्न र पेट्रोलियम पदार्थको स्थिर वितरण सुनिश्चित गर्न जापानले आफ्नो भण्डारबाट तेल खुला गर्न शुरु गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
क्योडो न्युजकाअनुसार देशले सुरुमा निजी क्षेत्रले राखेको १५ दिन बराबरको भण्डार खुला गर्दैछ । त्यसपछि सरकारले राखेको एक महिना बराबरको तेल खुला गरिनेछ ।
जापानी सरकारले तेल प्रशोधनकर्ता र व्यापारिक कम्पनीहरूका लागि अनिवार्य भण्डारण आवश्यकतालाई ७० दिनबाट घटाएर ५५ दिनमा झार्नेछ । जसले उनीहरूलाई आफ्नो मौजुदा भण्डारको केही भाग प्रयोग गर्न सक्षम बनाउनेछ ।
प्रधानमन्त्री सानाए ताकाइचीले करिव ८ करोड (८० मिलियन) ब्यारेल तेल खुला गर्ने सरकारको योजना घोषणा गरिन् । जुन अहिलेसम्मकै सबैभन्दा ठूलो रिलिज हो ।
यो मात्रा ४५ दिनको घरेलु खपत बराबर हो र सन् २०११ मा उत्तरपूर्वी जापानमा गएको विनाशकारी भूकम्प र सुनामीपछि खुला गरिएको मात्राभन्दा १.८ गुणा बढी भएको क्योडो न्युजले रिपोर्ट गरेको छ । सरकारले राखेको भण्डारबाट थोक विक्रेताहरूलाई तेल बेच्ने तयारी भइरहेको छ ।
सन् १९७० को दशकमा यो प्रणाली सुरु भएयता जापानले आफ्नो तेल भण्डार प्रयोग गरेको यो सातौं पटक हो । सन् २०२५ को अन्त्यसम्ममा, जापानसँग २५४ दिनको घरेलु माग धान्न सक्ने बराबरको तेल भण्डार थियो ।
जापान आफ्नो कच्चा तेल आयातको ९० प्रतिशतभन्दा बढी मध्यपूर्वमा निर्भर छ, जसले गर्दा फेब्रुअरीको अन्त्यमा मध्यपूर्व द्वन्द्व शुरु भएपछि होर्मुज जलडमरूमध्यको प्रभावकारी बन्दले यसलाई अत्यधिक जोखिममा पारेको छ । यस अवरोधले देशमा कच्चा तेलको मूल्यमा तिब्र वृद्धि ल्याएको छ ।


प्रतिक्रिया दिनुहोस्