महासङ्घको विश्वसनीयता र छविलाई मजबुत बनाउनु अहिलेको आवश्यकता हो


नेपाल सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष रघुनन्दन मारू पहिलो पटक नेपाल उद्योग वाणिज्य महासङ्घको केन्द्रीय कार्यकारिणी समितिमा उम्मेदवार बनेका छन् । ४०/४५ वर्षदेखि खनिज उद्योग क्षेत्रमा सक्रिय रघुनन्दन जेपी मारू ग्रुपका उपाध्यक्ष पनि हुन् । उनी खनिज, सिमेन्ट, स्टिल, पाइप, हाइड्रो, तेल लगाय एक दर्शन उद्योगमा संलग्न छन् । १०/१२ वर्षदेखि महासङ्घका विभिन्न समिति तथा परिषदमा अनुभव बटुलेका उम्मेदवार मारूसँग चुनावी विषयमा केन्द्रित रहेर टक्सार न्युजले गरेको कुराकानी

नेपाल उद्योग वाणिज्य महासङ्घमा चुनावको तयारी गरिरहँदा यहाँले नेतृत्व गर्ने क्षेत्रका समस्या के के छन् ?

म ४०/४५ वर्षदेखि खानी उद्योग क्षेत्रमा क्रियाशील छु । आज चीनमा कुल गार्हस्थ उत्पादन (जिडिपी)मा खनिज क्षेत्रको ६ प्रतिशत योगदान छ । हाम्रो देशमा खनिज र वन क्षेत्र भनेको ठुलो स्रोत हो । खनिज सम्पदामा धनी राष्ट्र हौँ तर पनि जिडिपीमा योगदान जम्मा ०.५ प्रतिशत छ र वास्तवमा यो सुन्दा लज्जास्पद अवस्था छ ।

खानी क्षेत्रमा पहिले सञ्चालन प्रक्रिया सजिलो थियो,जसका कारण यो क्षेत्रको उद्योगले गति पनि लियो । पछि निकै झन्झटिलो प्रक्रिया बनाइयो र यो क्षेत्र सङ्कुचनमा गयो । यसको मुख्य कारण नीति, नियम र प्रक्रिया नै हुन् । सम्भावना भएर पनि खानी क्षेत्रको उपयोग गर्न नसक्नु हाम्रो असफलता हो ।

वन भोगाधिकार, जमिनका झन्झट, बहु–स्वीकृतिको अवस्थाका कारण खानी उद्योगले गति लिन सकेन । वन क्षेत्रका कारण झनै ठुलो समस्या भएको छ । ९० प्रतिशत खानी त वनमै हुन्छ । पहिला खानीको खोजी गर्नुस्, माइनिङ स्किम पेस गर्नुस्, माइनिङ स्किम स्वीकृत नभई वनको भोगाधिकार पाइँदैन । त्यसपछि फेरि टिओआर बुझाउनुस्, त्यसपछि आइई/इआइए स्वीकृत गराउनुस अनि बल्ल वन भोगाधिकारको कुरा आउँछ ।

खानी क्षेत्र त त्यसै पनि करिब ९० प्रतिशत वन क्षेत्रमा पर्छ । एलानी जग्गा भए पनि वनकै परिधिमा पर्छ । मेरो प्रश्न के हो भने म जुन क्षेत्रमा खानी सञ्चालन गर्न लागेको छु भने भोगाधिकार दिनुस् भनेर सुरुमै वनसँग किन माग्न नपाइने ? नियम नै यस्तो बनाइएको छ कि उद्योगी घुमिरहोस् । जबसम्म यो प्रवृतिको अन्त हुदैन तबसम्म यहाँ खानी उद्योग विकास गर्न सकिदैन ।

नेपालमा खनिज उद्योगको चर्चा भइरहेकै छ । सरकारले पनि केही गर्न खोजेजस्तो देखिन्छ तर व्यवहारमा काम गर्न धेरै गाह्रो हो ?

गाह्रो मात्र होइन, धेरै गाह्रो छ । मैले माथि उल्लेख गरेका सबै प्रक्रिया पुरा गरेर काम गर्न सिमेन्ट उद्योग स्थापना गर्नमात्रै ३ देखि ४ वर्ष लाग्छ । यो आफैमा हासो उठ्दो कुरो हो ।

हामीलाई खानी विभाग, वन विभाग, उद्योग विभाग, भूमि सुधार मन्त्रालय-सबैको फरक‑फरक स्वीकृति चाहिन्छ । ५०–६० हजार रोपनी जग्गा चाहिने उद्योगका लागि हदबन्दी क्लियर गर्न पनि मन्त्रालयसम्म धाउनुपर्ने अवस्था छ ।

उद्योगी उत्पादनतिर लाग्ने कि फाइल पछ्याएर बस्ने ? वर्षौसम्म फाइलहरुको पछिपछि उद्योगी व्यवसायी घुमेर बस्ने प्रवृतिको अन्त्य गर्नु एकदम आवश्यक छ । नयाँ सरकार बनेको छ । नेपाल सिमेन्ट उत्पादक सङ्घ लगायत समस्त उद्यमीहरूले खानीमा आधारित उद्योग उद्यमीहरूले यस्ता समस्याको समाधान चाहेका छन् ।

म हाइड्रोमा पनि छु । निकुञ्ज पर्‍यो भनेर सयौँ मेगावाटका आयोजना रोकिएका छन् । हाइड्रोपावरले निकुञ्जलाई के ठुलो क्षति गर्छ र ? तर नियमले सबैलाई बाँधेको छ । निकुञ्जमा परेको भनेर सयौँ मेगावाटका हाइड्रो पावरहरू अलपत्र परेर बसेका छन् । यस्ता नियमहरूलाई निर्मूल गर्दिनुपर्छ कि हटाइदिनुपर्छ ।

यस्ता अफ्ठ्यारा नियमहरू हटाएर नियमन गर्नुपर्छ । नियम सहज गरेर नियमनमा कडाई गर्नुपर्छ । होइन भने एकसय बिलियनको अर्थतन्त्र बोलिमा मात्रै सिमित रहन्छ ।

उद्योग वाणिज्य महासङ्घको नेतृत्वका लागि तपाईं चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । यस्तो अवस्थामा, निजी क्षेत्रको प्रतिनिधि संस्थाका रूपमा महासङ्घले सरकारलाई नीतिगत सल्लाह दिने र नीति निर्माणमा प्रभाव पार्ने महत्वपूर्ण भूमिका खेल्दै आएको छ । तपाईं उम्मेदवारकै रूपमा अहिले सम्मको महासङ्घको भूमिकालाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ? साथै, नेतृत्वमा पुग्नुभयो भने यस भूमिकालाई कसरी अझ प्रभावकारी बनाउनुहुन्छ ?

नेपाल उद्योग वाणिज्य महासङ्घमा मैले उम्मेदवारी दिनुको स्पष्ट कारण छ । पछिल्लो समय महासङ्घप्रति उद्योगी–व्यवसायीहरूमा केही नकारात्मक धारणा विकसित हुँदै गएको मैले महसुस गरेको छु, जसलाई अन्त्य गर्न आवश्यक छ ।

महासङ्घ हाम्रो छाता सङ्गठन मात्र होइन, सरकारसँगको एउटा महत्वपूर्ण आर्थिक साझेदार र अर्थतन्त्रलाई अगाडि बढाउने प्रमुख संस्थामध्ये एक हो । नीतिगत विषयमा सरकारसँग संवाद गर्ने, निजी क्षेत्रको धारणा प्रस्तुत गर्ने र सहकार्य गर्ने जिम्मेवारी पनि यसै संस्थाको हो । महासङ्घप्रति नकारात्मक दृष्टिकोण बढ्नु उचित होइन भन्ने मेरो बुझाइ हो । यही कारणले महासङ्घमा सङ्गठनात्मक सुधार आवश्यक छ भन्ने निष्कर्षमा पुगेको हुँ । सुधारका लागि नयाँ सोच, सिर्जनात्मक कार्यशैली र प्रभावकारी सञ्चालन मोडेल आवश्यक पर्छ भन्ने मेरो धारणा छ ।

यसै उद्देश्यका साथ आगामी नेतृत्वका लागि उम्मेदवारी दिएको हुँ । भावी अध्यक्षका रूपमा अञ्जन श्रेष्ठ र उपाध्यक्षका उम्मेदवार शिव घिमिरेको टिमबाट मैले उम्मेदवारी दिएको छु र महासङ्घलाई नयाँ ढङ्गले अघि बढाउने लक्ष्य राखेको छु ।

म उद्योग वाणिज्य महासङ्घमा करिब १०–१२ वर्षदेखि आबद्ध रहँदै आएको छु तर केन्द्रीय कार्यकारिणी समिति सदस्यमा उम्मेदवारी पहिलोपटक दिएको हुँ । यस अवधिमा मैले पर्याप्त अनुभव सङ्कलन गरेको छु । मेरो विश्वास के छ भने यदि सक्षम र समन्वयकारी टिम गठन गर्न सकियो भने उद्योग वाणिज्य महासङ्घलाई अझ प्रभावकारी ढङ्गले अघि बढाउँदै नयाँ उचाइमा पुर्‍याउन सकिन्छ ।

अहिले निजी क्षेत्रको सन्दर्भमा हेर्ने हो भने नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्स पनि सक्रिय छन् । उद्योग वाणिज्य महासङ्घ सबैभन्दा ठुलो छाता सङ्गठन भयो । यो तीनओटा संस्थाको सहकार्य र साझेदारीलाई कसरी प्रभावकारी बनाउन सकिएला ?

निश्चित रूपमा साझेदारी र सहकार्य सधैं आवश्यक हुन्छ, र त्यो भइरहेको पनि छ । धेरै विषयहरूमा हामी सम्बन्धित संस्थाहरू एउटै धारमा उभिएर साझा धारणा राख्ने गरेका पनि छौँ । जहाँ मतभेद देखिन्छ, त्यहाँ केही समस्या भने देखापर्ने गरेको छ ।

कतिपय व्यवसायीहरूले उद्योग वाणिज्य महासङ्घमा आफ्नो सुनुवाइ नहुने अनुभूति गर्दा अन्य विकल्पतर्फ जानुपर्ने सोच विकसित भइरहेको छ । पछिल्लो समय यस्तो धारणा केही बढेको देखिन्छ र यसमा सुधार गर्नु आवश्यक छ भन्ने मलाई लाग्छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घ भनेको सम्पूर्ण उद्योगी–व्यवसायीहरूको छाता सङ्गठन हो ।

देशभर रहेका विभिन्न वस्तुगत सङ्घ र उद्योग–व्यवसायसँग सम्बन्धित सबै संस्थाहरूको प्रतिनिधित्व गर्ने मुख्य संस्था यही हो । त्यसैले यस संस्थामा सबैको आवाज समेटिने र प्रभावकारी प्रतिनिधित्व हुने वातावरण निर्माण गर्नु अत्यन्त जरुरी छ ।

महासङ्घमा विस्तारै ठुला उद्योगीहरूको चासो कम हुँदै गएको जस्तो देखिन्छ, खास समस्या के हो?

कतिपय विषयमा अगाडि तपाईंले उठाउनुभएको जस्तै मेरो उम्मेदवारीले पनि केही हदसम्म बहसलाई प्रभाव पारेको अनुभूति भएको छ । चुनावी अभियानका क्रममा भएका छलफल र अन्तरक्रियामा विशेषगरी ठुला उद्योगीहरू किन बाहिरिन थाले भन्ने कुरा बारम्बार उठिरहेको छ । यसको प्रमुख कारणका रूपमा ‘सुनुवाइको अभाव’लाई अघि सारिएको छ । उद्योगी–व्यवसायीहरूले आफ्ना मुद्दा उठाए पनि ती विषयहरू प्रभावकारी ढङ्गले सम्बोधन नभएको, सम्बन्धित तहसम्म पुर्‍याउन नसकिएको भन्ने गुनासो व्यापक रूपमा सुनिएको छ ।

यो संस्था स्वच्छ र निष्पक्ष ढङ्गले सबै व्यवसायीको प्रतिनिधित्व गर्ने हुनुपर्छ र त्यही आधारमा यसको सञ्चालन हुन जरुरी छ । पछिल्ला केही वर्षमा देखिएको यस्ता विकृतिहरूलाई क्रमशः हटाउँदै जानुपर्ने आवश्यकता छ । यही सोचका साथ मैले पनि सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता लिएर अघि बढेको हुँ –रघुनन्दन मारू,कार्यकारिणी सदस्य उम्मेदवार, उद्योग वाणिज्य महासङ्घ

विशेषगरी नीतिगत विषयमा उद्योग वाणिज्य महासङ्घको भूमिका अपेक्षाअनुसार सशक्त नदेखिएको भन्ने धारणा पनि देखिएको छ । यसले गर्दा संस्थाको समग्र छविमा केही हदसम्म नकारात्मक प्रभाव परेको देखिन्छ । त्यसैले महासङ्घको विश्वसनीयता र छविलाई मजबुत बनाउनु अहिलेको आवश्यकता हो भन्ने मेरो बुझाइ छ । यो केवल आवश्यकता मात्र होइन, हाम्रो नैतिक उत्तरदायित्व पनि हो । महासङ्घलार्ई पुनः सशक्त र प्रभावकारी बनाउँदै नयाँ उचाइमा पुर्‍याउने लक्ष्यलाई ध्यानमा राख्दै मैले उम्मेदवारी दिएको हुँ ।

यसका लागि हामीले केही रणनीतिक सोचहरू पनि बनाएका छौँ । आगामी दिनमा सबैको साथ र सहकार्य रह्यो भने महासंघलाई अझ सुदृढ र प्रभावकारी संस्थाका रूपमा अघि बढाउन सकिन्छ भन्नेमा म विश्वस्त छु ।

उद्योग वाणिज्य महासङ्घमा विगदेखि नै गुटबन्दी बढी भयो भन्ने गुनासो निरन्तर छ । जसका कारण नयाँ संस्थाहरू जन्मने अवस्था बन्यो । उद्योगी व्यवसायी आन्तरिक होइन कि अर्को संस्थासमेत बनाएर बाहिर बस्ने अवस्था कसरी आयो ? यसबारे यहाँको मूल्याङ्कन के छ ?

जहाँसम्म मेरो बुझाइ छ, विगतमा केही हदसम्म राजनीति हाबी भएको देखिन्छ । विशेषगरी गुटगत प्रवृत्ति र आन्तरिक राजनीतिक प्रभावले संस्थाको मूल उद्देश्यलाई केही प्रभावित गरेको जस्तो लाग्छ । तर उद्योग वाणिज्य महासङ्घ भनेको सम्पूर्ण उद्योगी–व्यवसायीहरूको छाता सङ्गठन हो । यस्तो संस्थामा कुनै पनि प्रकारको राजनीतिक प्रभाव हाबी हुनु उपयुक्त हुँदैनथ्यो ।

यो संस्था स्वच्छ र निष्पक्ष ढङ्गले सबै व्यवसायीको प्रतिनिधित्व गर्ने हुनुपर्छ र त्यही आधारमा यसको सञ्चालन हुन जरुरी छ । पछिल्ला केही वर्षमा देखिएको यस्ता विकृतिहरूलाई क्रमशः हटाउँदै जानुपर्ने आवश्यकता छ । यही सोचका साथ मैले पनि सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता लिएर अघि बढेको हुँ ।

चुनावी अभियानमा हुनुहुन्छ । यहाँको आफ्नो चुनावी मुद्दा पनि होलान् । एउटा महत्वपूर्ण उद्योगी र एउटा क्षेत्रको सङ्घको नेतृत्व पनि गरिरहनुु भएको छ । पहिलोपटक महासङ्घको केन्द्रमा उठ्दै हुनुहुन्छ । यहाँलाई मत किन हाल्ने भन्ने प्रश्न त उठ्ला नि ?

त्यो त मतदाताहरूको आफ्नो मूल्याङ्कनको विषय पनि हो । मेरो व्यक्तिगत धारणा के छ भने, निर्माणमुखी तथा उत्पादनमुखी क्षेत्रसँग म स्वयं लामो समयदेखि आबद्ध रहेकाले ती क्षेत्रका समस्या र पीडालाई मैले नजिकबाट अनुभूति गरेको छु । त्यही अनुभवका आधारमा समस्याहरूलाई सम्बन्धित निकायसम्म प्रभावकारी रूपमा पुर्‍याएर समाधानतर्फ अघि बढाउन सकिन्छ भन्ने आत्मविश्वास मसँग छ ।

यससँगै, उद्योग वाणिज्य महासङ्घप्रति पछिल्लो समय केही कारणले विकसित भएको नकारात्मक धारणा हटाउन पनि आवश्यक देखिन्छ । त्यसका लागि सशक्त र स्पष्ट दृष्टिकोणसहित नेतृत्वमा दावेदारी प्रस्तुत गर्ने मेरो प्रयास हो ।