शिक्षा क्षेत्रको सुधार पहिलो प्राथमिकताः शिक्षामन्त्री पोखरेल


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्रको सुधार पहिलो प्राथमिकता भएको बताएका छन् ।

मंगलबार कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको निरीक्षणपछि आयोजित कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले देशभरको शिक्षा क्षेत्रको सुधारका लागि काम गर्न सरकार प्रतिवद्ध रहेको बताए।

सरकारको प्रवक्ता समेत रहेका शिक्षामन्त्री पोखरेलले आगामी पाँच वर्षभित्र हरेक क्षेत्रको सुधार क्रमशः हुदै जाने बताए । पहिलो वर्ष प्राथमिकताका आधारमा शिक्षा र स्वास्थ्यमा सरकारले लगानी गर्ने उनको भनाइ छ ।

“विगतमा पहुँच कम भएका विद्यालय÷विश्वविद्यालयहरु बढी प्राथमिकतामा सरकारले राख्ने छ”, शिक्षामन्त्री पोखरेलले भने,“ आगामी पाँच बर्षभित्र क्रमशः हरेक क्षेत्रमा सुधार गर्दै जाने छौं । पुहँच कम भएका क्षेत्रमा लगानी र अनुदान पनि बढाइँने छ ।”

मन्त्री पोखरेलले सरकारको प्राथमिकताका विषयलाई आफ्नो प्राथमिकतामा राखेर काम गर्न विश्वविद्यालयका पदाधिकारी र कर्मचारीहरुलाई निर्देशन समेत दिए ।

उनले भने, “अबको पाँच बर्ष नेपालका लागि टेष्ट पिरियड हो । शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद सबै क्षेत्रको आ–आफ्नै महत्व छ । हामी सबै साझेदार भएर काम गर्नुपर्छ ।”