काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक (एआईजी) गणेश ठाडा मगरले नेपाल भारत सीमा नाकामा किसानलाई मल आयात गर्दा कुनै अवरोध सिर्जना नहुने बताएका छन् ।
बिहीवार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले मल आयातमा सहजीकरण गरिएको बताएका हुन। उनले मल आयातमा दुःख दिने कुरा पुरानो भइसकेको उल्लेख गर्दै यसवर्ष मल आयातमा नरोक्नेगरि सीमा सुरक्षा पोस्ट (बीओपी) लाई निर्देशन दिएको जानकारी दिए ।
उनले सीमानाकामा मल आयात गर्दा दुःख दिएको पाइएमा खबर गर्न पनि आग्रह गरे । उनले खुला सीमाको फाइदा उठाएर मलको नाममा अरु वस्तु तस्करी हुने गरेको उल्लेख गर्दै चेकजाँच लगायतका कार्य भने भइरहेको बताए । मलको बोरामा चिनी लगायतका वस्तु आयात हुने गरेको उनको भनाइ छ । उनले तस्करी नियन्त्रणमा भने सशस्त्र प्रहरी बल निर्मम भएर लाग्ने बताए । किसानलाई भारतबाट आवश्यक मल ल्याउन भने कुनै कडाई नगरेको उनको दाबी छ ।
समितिको बैठकमा सांसदहरुले सीमा सुरक्षा पोस्ट (बीओपी)मा सशस्त्र प्रहरी बलले किसानलाई मल ल्याउन दुःख दिएको गुनासो गरेका थिए । न्युज एजेन्सी नेपाल


प्रतिक्रिया दिनुहोस्