काठमाडौं । सरकारले हुलाक प्रणालीमार्फत सुरु गरेको घरदैलोमै राहदानी वितरण सेवा १४ जिल्लामा विस्तार भएको छ । हुलाक सेवा विभागका अनुसार हालसम्म ३११ वटा राहदानी सम्बन्धित सेवाग्राहीको घरमै पुगेर वितरण गरिएको छ ।
विभागका अनुसार गुल्मी, डडेलधुरा, झापा, सिन्धुपाल्चोक, कालीकोट, मकवानपुर, बझाङ, कास्की, मोरङ, धनकुटालगायत बैतडीमा समेत सम्बन्धित निकायसँग सम्झौता गरी सेवा विस्तार गरिएको छ । अन्य जिल्लामा पनि जिल्ला प्रशासन कार्यालयबाट राहदानी प्राप्त भएपछि वितरण प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ ।
राहदानी सेवासँगै सबै जिल्ला प्रशासन कार्यालयले राहदानी बनाउन आउने सेवाग्राहीको ठेगाना संकलन सुरु गरिसकेका छन् । यसले आगामी दिनमा घरदैलोमै सेवा विस्तारलाई सहज बनाउने अपेक्षा गरिएको छ ।
सवारीचालक अनुमतिपत्र वितरणतर्फ पनि हुलाक सेवामार्फत उल्लेखनीय प्रगति भएको विभागको दाबी छ । २०८३ वैशाख १५ गते दिउँसो ३ बजेसम्म २ लाख ५६ हजार १२६ वटा लाइसेन्स सम्बन्धित यातायात कार्यालयमा पठाइसकिएको जनाइएको छ ।
मोरङ र कास्कीमा यातायात कार्यालयसँग समन्वय गरी लाइसेन्स घरमै पुर्याउने सेवा समेत सुरु गरिएको छ ।
हुलाक सेवा विभागले अन्य सार्वजनिक सेवासँग पनि सहकार्य विस्तार गरिरहेको जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग प्रयोगशाला नमुना ढुवानीसम्बन्धी सम्झौता अन्तिम चरणमा पुगेको छ भने नेपाल टेलिकमसँग सिमकार्ड घरदैलोमै पुर्याउने विषयमा प्राविधिक तयारी अघि बढाइएको छ ।
त्यसैगरी, त्रिभुवन विश्वविद्यालयसँग प्रमाणपत्र ढुवानीका लागि दोस्रो चरणको छलफल सम्पन्न भइसकेको विभागले जनाएको छ । मध्यपश्चिम विश्वविद्यालयसँग प्रश्नपत्र, उत्तरपुस्तिका तथा प्रमाणपत्र ढुवानी कार्य सुरु भइसकेको छ ।
विभागका अनुसार राहदानी विभागसँग प्रणाली अन्तरआवद्धताका लागि अध्ययन समिति गठन गरिएको छ भने महालेखा नियन्त्रक कार्यालयसँग प्रणाली एकीकरणका लागि पहल भइरहेको छ ।
सरकारले गत चैत १३ गते सार्वजनिक गरेको १०० दिने कार्यसूचीअन्तर्गत हुलाक सेवालाई आधुनिकीकरण गर्दै “गभर्मेन्ट कुरियर सर्भिस” का रूपमा विकास गर्ने लक्ष्य राखेको छ । यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबीच समन्वय भइरहेको जनाइएको छ ।
सञ्चारमन्त्री डा. बिक्रम तिमिल्सिनाले कार्यान्वयनमा सक्रियता देखाउँदै सम्बन्धित निकायलाई सहकार्य प्रभावकारी बनाउन तथा देखिएका समस्या समाधानमा तत्पर रहन निर्देशन दिएको सचिवालयले जनाएकाे छ ।
*तस्बिरः एआइद्वारा निर्मित समाचार प्रतिनिधिमुलक तस्बिर ।


प्रतिक्रिया दिनुहोस्