निजी क्षेत्रबीच व्यावसायिक एकता र सहकार्यमा पूर्वअध्यक्ष मल्लको जोड


काठमाडौं । नेपाल चेम्बर अफ कमर्स का पूर्वअध्यक्ष राजेन्द्र मल्ल ले मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रका छाता संगठनहरूबीच व्यावसायिक एकता र सहकार्य अपरिहार्य रहेको बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघ ९एफएनसीसीआई० को निर्वाचनको सन्दर्भमा बोल्दै मल्लले निर्वाचन लोकतान्त्रिक प्रक्रिया भएको उल्लेख गर्दै यसको समापनसँगै सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्ने धारणा राखे। उनले निर्वाचनमा भएको हार–जितलाई बिर्सेर निजी क्षेत्रको हकहितका लागि एकतावद्ध हुनुपर्नेमा जोड दिए।

नयाँ नेतृत्वसँग सहकार्यको प्रतिबद्धता व्यक्त गर्दै उनले महासंघमा निर्वाचित हुने टिमसँग नेपाल चेम्बर अफ कमर्स ले सधैँझैँ सहकार्य गर्ने बताए।

वर्तमान अवस्थामा निजी क्षेत्रले विभिन्न चुनौती सामना गरिरहेको उल्लेख गर्दै मल्लले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे। “सरकारले दिने आश्वासन र व्यवहारमा भिन्नता देखिएको छ,” उनले भने।

उनले निर्वाचनपछि मुलुकको आर्थिक दिशामा ध्यान केन्द्रित गर्नुपर्ने बताउँदै सरकारको नियमन शैलीप्रति पनि प्रश्न उठाए। “सरकारले व्यवसायीका कुरा सुन्नुभन्दा पहिले नियन्त्रणमा लिने (थुन्ने अनि सुन्ने) प्रवृत्ति देखिएको छ, जसले लगानी र व्यवसायको वातावरण प्रभावित बनाएको छ,” मल्लको भनाइ थियो।

मल्लले मुलुकको समृद्धि केवल राजनीतिक नेतृत्वबाट मात्र सम्भव नहुने उल्लेख गर्दै उद्यमी, व्यवसायी र आम नागरिकको समान भूमिका हुने बताए। उनले कानुनविपरीत काम गर्ने जोसुकैलाई कारबाही हुनुपर्ने स्पष्ट पार्दै अन्तर्राष्ट्रिय अभ्यासविपरीत व्यवसायीमाथि हुने धरपकड र हतोत्साही गर्ने गतिविधि तत्काल रोकिनुपर्ने माग गरे।

नीतिगत अस्पष्टता र झन्झटिलो प्रक्रियाले व्यवसायीहरू मर्कामा परेको बताउँदै उनले ‘एमआर’ ९बजार अनुगमनरनियमन० सम्बन्धी समस्याबारे वाणिज्य मन्त्रीको ध्यानाकर्षण गराइएको जानकारी दिए। साथै, नीति निर्माणका क्रममा निजी क्षेत्रसँग पर्याप्त छलफल नगरेको गुनासो समेत गरे।

निजी क्षेत्रका समस्या समाधानका लागि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघ जस्ता संस्थाहरूले एकीकृत रूपमा सक्रिय पहल गर्नुपर्नेमा उनले विशेष जोड दिएका छन्।