महासङ्घमा स्पष्ट,व्यवहारिक र कार्यान्वयनयोग्य रोडम्याप निर्माण गर्ने छु : रघुनन्दन मारू


काठमाडौँ । मेरो उम्मेदवारी नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यकारी समिति सदस्यका उम्मेदवार रघुनन्दन मारूले साना तथा मझौला उद्योगहरूको प्रवर्धन, स्वदेशी उत्पादनको संरक्षण, आयात प्रतिस्थापन र निर्यात वृद्धिका लागि उम्मेदवारी दिएको बताएका छन् ।

महासङ्घको चुनाव नजिकिदै गर्दा एक अपिल जारी गर्दै महासङ्घमा स्पष्ट, व्यवहारिक र कार्यान्वयनयोग्य रोडम्याप निर्माण गर्नु आफ्नो प्रमुख प्राथमिकता हुने बताउका छन् ।

निजी क्षेत्रको आवाजलाई सरकारसमक्ष दृढ, एकीकृत र प्रभावकारी रूपमा प्रस्तुत गर्नु आफ्नो मूल लक्ष्य रहेको मारूको भनाई छ ।

उनले भनेका छन्, “साना तथा मझौला उद्योगहरूको प्रवर्धन, स्वदेशी उत्पादनको संरक्षण, आयात प्रतिस्थापन र निर्यात वृद्धिका लागि स्पष्ट, व्यवहारिक र कार्यान्वयनयोग्य रोडम्याप निर्माण गर्नु मेरो प्रमुख प्राथमिकता हुनेछ। निजी क्षेत्रको आवाजलाई सरकारसमक्ष दृढ, एकीकृत र प्रभावकारी रूपमा प्रस्तुत गर्नु मेरो मूल लक्ष्य हो ।”

पदका लागि कुनै व्यक्तिगत महत्वकाङ्क्षा नभएको भन्दै उम्मेदवार मारूले नेपालको निजी क्षेत्रलाई सुदृढ, प्रतिस्पर्धी र दीगो बनाउने स्पष्ट दृष्टिकोण तथा अटल प्रतिबद्धता प्रमाणित गर्न उम्मेदवारी दिएको बताएका छन् । रघुनन्दन मारू नेपाल सिमेन्ट उत्पादक संघको अध्यक्ष, जेबी मारू ग्रुपको उपाध्यक्षका साथै शिवम् सिमेन्ट्स लिमिटेडको प्रर्वतक समेत हुन् ।

उनले भनेका छन्, “यही अनुभवका आधारमा महासङ्घ र सरकारबिच नतिजामुखी, पारदर्शी र प्रभावकारी समन्वय स्थापित गर्न म दृढतापूर्वक कटिबद्ध छु ।”

निजी क्षेत्र नीतिगत अस्पष्टता,व्यवहारिक जटिलता र उद्योगमैत्री वातावरणको अभावका कारण गम्भीर चुनौतीको सामना गरिरहेको भन्दै यस्तो अवस्थामा महासङ्घले सरकारसँग औपचारिक संवादमा सीमित नभई, ठोस सुझाव, निरन्तर दबाब र सहकार्यको सशक्त संस्थागत संयन्त्र विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले भनेका छन्,“हामी सबैले देखिरहेका छौँ,धेरै विकास योजनाहरू कागजमै सीमित छन्, कार्यान्वयन पक्ष कमजोर छ ।
अब यो प्रवृत्तिको अन्त्य गर्न महासङ्घले सरकारसँग सहकार्य गर्दै दीर्घकालीन रणनीति, लगानीमैत्री नीति र उत्पादनमुखी अर्थतन्त्र निर्माणमा निर्णायक भूमिका खेल्नुपर्छ ।”