मुलुकको आर्थिक संकट र कुटनीतिक जटिलताप्रति सरकार गम्भीर नभएको काँग्रेस सभापति थापाको आरोप


काठमाडाैँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले देशको वर्तमान आर्थिक अवस्था र छिमेकी मुलुकहरूसँगको व्यापारिक तथा कुटनीतिक सम्बन्धबारे सरकार गम्भीर नभएको आरोप लगाएका छन् ।

मजदुर दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै थापाले अर्थतन्त्र ‘कोमा’ मा जान लागेको संकेत गर्दै सरकारको प्राथमिकता गलत ठाउँमा रहेको बताएका हुन् ।

थापाले बैंकहरूमा पैसा थुप्रिने तर ऋण लिने वातावरण नहुनुले लगानीकर्तामा विश्वासको कमी देखिएको उल्लेख गरे। कुटनीतिक सन्दर्भमा बोल्दै थापाले भारतले नेपाली चियामा लगाएको कर र चीनसँगको नाकामा देखिएको अवरोधका कारण नेपाली उद्यमी मारमा परेको बताए । 

उनले भने, “दैनिक ज्यालादारी गर्ने मजदुरदेखि ठूला व्यवसायीसम्म आर्थिक मन्दीको चपेटामा छन्, भान्सा महँगो भएको छ तर सरकार परिणाममुखी काममा लाग्नुको सट्टा प्रचारमुखी कार्यमा रमाएको छ ।”

भारत र चीनले लिपुलेक हुँदै मानसरोवर जाने बाटोका बारेमा गरिरहेको छलफलमा नेपालले आफ्नो स्पष्ट र एकीकृत अडान राख्नुपर्नेमा उनले जोड दिए । राष्ट्रिय हितका विषयमा सिङ्गो नेपाल एक ठाउँमा उभिनुपर्ने र सरकारले छिमेकी मुलुकहरूसँग सहुलियतपूर्ण व्यापारका लागि ठोस पहल गर्नुपर्ने उनको माग थियो ।