काठमाडौँ । प्रधानमन्त्री बालेन शाह (वालेन)का राजनीतिक सल्लाहकार असिम शाहले अघिल्लो सरकारबाट विभिन्न निकायमा नियुक्ति पाएका १५९४ जना पदाधिकारी एकमुष्टरूपमा पदमुक्त हुने जानकारी दिएका छन् ।
सामाजिक सञ्जालमा राजनीतिक सल्लाहकार शाहले ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ अध्ययादेश जारी भएसँगै सबै राजनीतिक नियुक्तिहरू एकमुष्ट रुपमा पदमुक्त हुने बाटो खुलेको बताएका हुन् ।
“सम्मानीय राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गर्नुभएको छ,” उनले सामाजिक सञ्जालमा लेखेका छन्, “सम्मानीय प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायहरूलाई नयाँ गति दिने उद्देश्यले चालेको यो कदमसँगै विभिन्न ऐन र संरचनाअन्तर्गत राजनीतिक नियुक्ति पाएका कुल १,५९४ जना पदाधिकारीहरू एकमुष्ट रूपमा पदमुक्त हुनेछन् ।”
सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेका आठमध्ये ६ वटा अध्यादेश राष्ट्रपति पौडेलले जारी गरिसकेका छन्। शनिबार मात्रै राष्ट्रपति पौडेलले तीनवटा अध्यादेश जारी गरेका थिए।
राष्ट्रपतिले जारी गरेका ६ अध्यादेशमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ पनि छ । यो अध्यादेश जारी भएसँगै वर्तमान सरकारलाई अब संस्थान, प्रतिष्ठान, आयोग, कोष, विश्वविद्यालय, निगम, बिमा लगायतका सबै निकायमा नयाँ नियुक्ति गर्न बाटो खुलेको छ ।



प्रतिक्रिया दिनुहोस्