देशमा दोहन र लुटतन्त्रका प्रतिवेदनहरू हेर्दा आङ नै सिरिङ्ग हुन्छः वाग्ले


काठमाडाैँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वर्तमान सरकारको मुख्य लक्ष्य ‘नीतिगत सेटिङ’ र संस्थागत कब्जा तोड्नु भएको स्पष्ट पारेका छन्। विगतमा जरा गाडेको राजनीतिक–आर्थिक गठजोड तोड्न नसके मुलुकको अर्थतन्त्र सुधार हुन नसक्ने भन्दै उनले अहिले सरकार त्यसैमा केन्द्रित रहेको बताएका हुन्।

राजधानीमा आयोजित कार्यक्रममा बोल्दै वाग्लेले आफूले अध्ययन गरिरहेका विगतका प्रतिवेदनहरूले देशभित्र गहिरो ‘दोहन र लुटतन्त्र’ रहेको देखाएको बताए। “कहिलेकाहीँ ती रिपोर्टहरू पढ्दा आङ सिरिङ्ग हुन्छ,” उनले भने, “जनताको स्रोतको दुरुपयोग गरेर बनाइएको त्यो संरचना अब रोकिनुपर्छ।”

उनका अनुसार केही सीमित ‘एलिट’ समूहले राजनीतिक र संस्थागत पहुँचका आधारमा नीति निर्माणमै प्रभाव पार्ने, व्यवसायी र भ्रष्ट राजनीतिज्ञबीच अपवित्र सम्बन्ध बनाउने र त्यसैमार्फत लाभ लिने प्रवृत्ति अब अन्त्य गर्नुपर्ने अवस्था आएको छ। “हामी नयाँ र स्वच्छ सुरुवातको संकेत दिन खोजिरहेका छौँ,” उनले भने।

अर्थमन्त्री वाग्लेले निजी क्षेत्रलाई पनि स्पष्ट सन्देश दिँदै इमानदार व्यवसायलाई मात्र सरकारले साथ दिने बताए। “गल्तीलाई प्रश्रय नदिनुहोस्, अपराधीलाई बचाउने प्रयास नगर्नुहोस्,” उनले चेतावनी दिए।

सरकार कठोर बन्न खोजेको भन्ने केही धारणा प्रति प्रतिक्रिया दिँदै उनले ‘फोहोर सफा गर्ने’ अभियान चलिरहेको बताए। “यो प्रक्रिया केहीका लागि पीडादायी हुन सक्छ, तर आवश्यक छ,” उनले भने।

वाग्लेले नेपालमा ऐन–कानूनकै कारण इमानदार व्यवसायीसमेत समस्यामा पर्ने गरेको स्वीकार गर्दै त्यस्ता कानुनी जटिलता सुधार गर्न सरकार अघि बढेको बताए। “हामी यस्तो वातावरण बनाउन चाहन्छौँ जहाँ इमानदार उद्यमीले सजिलै काम गर्न सकून्, कर तिर्न सकून् र रोजगारी सिर्जना गर्न सकून्,” उनले भने।

उनले वर्तमान सरकार सुशासनप्रति प्रतिबद्ध रहेको दाबी गर्दै सार्वजनिक खर्च, पारदर्शिता र उत्तरदायित्वमा नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्य रहेको बताए। साथै आगामी बजेटमार्फत निजी क्षेत्रमैत्री, लगानी प्रवर्द्धन गर्ने र कर प्रणाली सरल बनाउने स्पष्ट मोडल ल्याइने जानकारी दिए।

विदेशी, प्रवासी र स्वदेशी लगानी आकर्षित गर्दै अर्थतन्त्रलाई चलायमान बनाउने योजनासहित सरकार अघि बढिरहेको उल्लेख गर्दै वाग्लेले “अबको आर्थिक खेलको नियम स्पष्ट, पारदर्शी र सबैका लागि समान हुनुपर्छ” भन्नेमा जोड दिए।