काठमाडाैँ । वायुसेवा कम्पनीहरू गम्भीर आर्थिक संकटमा परेको भन्दै नेपाल वायुसेवा सञ्चालक संघले सरकारसँग तत्काल राहत तथा सहुलियत उपलब्ध गराउन माग गरेको छ ।
संघकाअनुसार कोभिड–१९ महामारी, जेन—जी आन्दोलन तथा मध्यपूर्व (खाडी) क्षेत्रमा जारी द्वन्द्वका कारण हवाई इन्धनको मूल्य अत्यधिक वृद्धि भएको छ । इन्धनको मूल्य बढेसँगै उडान खर्च उल्लेखनीय रूपमा बढेको र नेपाल आउने पर्यटकको संख्यामा कमी आएकाले संकट समाना गर्नुपरेको छ ।
पहिले वायुसेवा कम्पनीहरूको कुल खर्चमा इन्धनको हिस्सा ३०–४० प्रतिशत रहने गरेकोमा हाल बढेर ५५–६० प्रतिशत पुगेको छ । यसले गर्दा कम्पनीहरूको आर्थिक अवस्था कमजोर बन्दै गएको र भविष्यमा सेवा नै बन्द गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिइएको छ ।
संघका अध्यक्ष प्रताप जंग पाण्डेले वायुसेवा सेवा सुचारु राख्न र यात्रुलाई सर्वसुलभ दिनका लागि राहतको माग गरेका छन् । उनले नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत लाग्ने ल्याण्डिङ, पार्किङ, नेभिगेशन लगायतका शुल्कमा कम्तीमा ५० प्रतिशत छुट दिन आग्रह गरेका छन् ।
विमानस्थल सेवा शुल्क नियमावली, २०७८ संशोधन गर्नुपर्ने, आन्तरिक उडानमा लाग्दै आएको मौसमी सेवा शुल्क हटाउनुपर्ने तथा वायुसेवा उद्योगलाई प्राथमिकता प्राप्त उद्योगको रूपमा दिइएको वर्गीकरणअनुसार कर छुट उपलब्ध गराउनुपर्ने उनीहरूकाे माग छ ।
संघकाअनुसार हाल अमेरिकी डलरमा लिइँदै आइएको छ । ती विभिन्न शुल्क नेपाली रुपैयाँमा तोक्न समेत सरकारसँग आग्रह गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्