तामाकोशी–५ जलविद्युत् आयोजना निर्माणले गति लियो, तोकिएकै समयमा सम्पन्न गर्ने लक्ष्य


काठमाडौँ । तामाकोशी–५ जलविद्युत आयोजना निर्माणले गति लिएको छ । सन् २०२८ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना निर्माण चरणमा प्रवेश गरेको छ ।

प्रबन्ध सञ्चालकमा रामकुमार यादव नियुक्त भएसँगै आयोजनाले गति लिएको हो । आयोजना नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडद्वारा प्रवर्धित  आयोजना हो ।

४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको क्यास्केड परियोजनाको रूपमा यसलाई अघि बढाईएको छ । यो आयोजनाले माथिल्लो तामाकोशीको टेलरेसको पानी पूनः प्रयोग गरी विद्युत् उत्पादन गर्नेछ ।

आयोजनाको श्रोत अनुसार आयोजनाको लट-१ अन्तर्गत सिभिल वोर्क र हाइड्रोमेकानिकल उपकरण इपिसी ढाँचा अर्थात इन्जिनियरिङ्, प्रोक्युरमेन्ट र कन्सट्रक्सन र लट-२ अन्तर्गत इलेक्ट्रोमेकानिकल उपकरण र ट्रान्समिसन लाइनलाई कार्य प्लान्ट र डिजाइन विल्ड ढाँचामा अगाडि बढाइएको छ । लट-१ अन्तर्राष्ट्रिय फिडिक (सिल्भर बुक) र नेपालको सार्वजनिक खरिद अनुगमन कार्यालयको इपिसी मापदण्ड तथा लट-२ अन्तर्राष्ट्रिय फिडिक (यल्लो बुक) अनुसार तयार गरिएको आयाेजनाले जनाएकाे छ ।

वित्तीय प्रबन्ध र प्रगति

आयोजनाको कुल अनुमानित लागत करिब २१.१४ अर्ब रुपैयाँ रहेको छ । कर्मचारी सञ्चयकोषको ऋण ६५ प्रतिशत र इक्वीटी ३५ प्रतिशत रहेको आयोजनाको पहुँच मार्ग र साइट तयारीका कामहरू अघि बढिरहेका छन् । बिगु गाउँपालिका–३, सुरी दोभान क्षेत्रमा यो आयोजना निर्माण हुँदैछ ।

तामाकोशी-५ जलविद्युत् आयोजनाका लागि सार्वजनिक जग्गा भोगाधिकार तथा रुख कटानसँग सम्बन्धित विषयमा आवश्यक सरकारी निर्णय भएपछि रोकिएका कामले समेत गति लिएको आयोजनाले जनाएकाे छ ।

अन्य आयोजनामा हेर्ने हो भने सार्वजनिक जग्गा भोगाधिकार तथा रुख कटानको स्वीकृति प्राप्त भएपछि ६-८ महिना लाग्ने देखिएकोमा यस आयोजनाले झण्डै १.५ महिनामा नै सम्पन्न गरि काम अघि बढाएको छ l

नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२ माघ ०८ गतेको निर्णयानुसार ११.६४ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएपछि आयोजनाको कामको गति अगाडि बढेको हाे ।

सोही निर्णयका आधारमा मिति २०८२ फागुन १४ गते उक्त सार्वजनिक जग्गा प्रयोग गरे बापतको क्षतिपूर्ति रकम सम्बन्धित विभागमा दाखिला गरेसंगै मिति २०८२ फागुन १९ गते सार्वजनिक जग्गा भोगाधिकार सम्बन्धि सम्झौता राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु सम्रक्षण विभाग र तामाकोशी जलबिद्युत कम्पनी लिमिटेडबिच भएको थियो ।

अन्य आयोजनामा हेर्ने हो भने करिव सार्वजनिक जग्गा भोगाधिकार तथा रुख कटानको स्वीकृति प्राप्त भएपछि ६-८ महिना लाग्ने देखिएकोमा यस आयोजनाले झण्डै १.५ महिनामा नै सम्पन्न गरि काम अघि बढाएको छ l  यससँगै लामो समयदेखि रोकिएका सार्वजनिक जग्गा भोगाधिकार तथा रुख कटानको कार्य पुनः सुरु भएको हो ।

ठेक्का व्यवस्थापन तर्फ कति प्रगति

ठेक्का व्यवस्थापनतर्फ ‘लट–१’ मा सिभिल वोर्क र हाइड्रोमेकानिकल उपकरण अन्तर्गतको काम राखिएको छ । लट–१ को भौतिक प्रगति २१.२० प्रतिशत पुगेको छ । लट–२ अन्तर्गत इलेक्ट्रोमेकानिकल उपकरण र ट्रान्समिसन लाइन कार्य रहेको छ ।

यसमा मिति २०८२ माघ १३ गते अनलाईन माध्यमबाट खोलिएको बोलपत्रको प्राविधिक तथा आर्थिक मूल्याङ्कन सम्पन्न भएर २०८२ चैत २५ गते ठेक्का सम्झौता गरिएको छ ।

लट-१ सँग काम तालमेल मिलाई अगाडि बढाउनुपर्ने भएका कारण आयोजनाले लट-२ को ठेकेदार कम्पनीलाई समय सिमाभित्रै काम सक्न सोहि अनुसारको योजना र तयारी गर्न अनुरोध गरेको छ । यस आयोजनाको व्यापारिक उत्पादन सुरु गर्ने समय २०८५ असार २० भएकाले सोहि अनुरुप कार्य गर्न गराउन दुवै लटको ठेकेदार कम्पनीलाई आयोजनाले निर्देशन समेत दिएको छ l

लट-३ मा स्थायी क्याम्प संरचना तथा पहुँच मार्ग अन्तर्गतका कामहरू छन् । यसमा समेत उल्लेखनीय प्रगति भएको देखिएको छ । यो लटको भौतिक कार्य झण्डै ९९ प्रतिशत पुगेको छ । मात्र पहुँच मार्ग कालोपत्रे गर्ने र कम्पाउण्ड वाल बार्ने कार्य बाँकी रहेको छ l समग्र रूपमा आयोजनाको भौतिक प्रगति २० प्रतिशत पुगेको छ भने आर्थिक प्रगति  २१.५० प्रतिशत रहेको छ ।

सुरुङ तथा पहुँच मार्गमा प्रगति

आयोजनाका विभिन्न सुरुङ निर्माण कार्यमा पछिल्लो तीन महिनाभित्र तीव्र गतिमा काम भएको छ ।

पावरहाउस क्षेत्रको इस्केप टनेल अन्तर्गत कुल ४७ मिटरको काम सबै सकिएको छ । हेडपन्ड तर्फको स्पिलवेको सुरुङमा कुल २७८ मिटर मध्ये २३७ मिटर काम सम्पन्न भइ ८५.३ प्रतिशत प्रगति भएको छ ।

हेडरेस टनेल (फेस-१) मा जम्मा १ हजार ५ सय ६८ मिटर मध्ये ३१४ मिटर पुगेको छ । सुरुङ मार्गमा, फेस-१ को लम्बाईको कुल २० प्रतिशत प्रगति हो भने आयोजनाको जम्मा सुरुङ मार्ग ८ हजार मिटर मध्ये यो प्रगति ३.९३ प्रतिशत हो ।

आयोजनाको अडिटमा पनि उल्लेख्य प्रगति देखिएको छ । अडिट-२ मा पछिल्लो तीन महिनामा ५३.७ प्रतिशतबाट बढेर ८८.७ प्रतिशत पुगेको छ । अडिट-३ मा पहिला काम सुरु नभएको अवस्थामा हाल ६० मिटर खनेर २० प्रतिशत पुगेको छ ।

अडिट-४ मा ५७.५ प्रतिशतबाट पछिल्लो तीन महिनामा ७३.२ प्रतिशत पुगेको छ । यसैगरी, अडिट-३ सम्मको पहुँच मार्गमा पछिल्लो तीन महिनामा ९ सय ५८ मिटर सडक निर्माण सम्पन्न भई शतप्रतिशत कार्य पूरा भएको आयोजनाको श्रोतले जनाएको छ ।

हालसम्म आयोजनाको हेडवर्क क्षेत्रको कार्यमा अडिट-१, हेडपण्ड जोड्ने टनेल ६४ प्रतिशत, हेडपण्ड १०० प्रतिशत सम्पन्न भएको छ भने पावरहाउसको क्षेत्र तर्फ पावरहाउस जोड्ने मुख्य पहुँच मार्ग, केवल र भेन्टिलेसन टनेल, ट्रान्सफर्मर र सो जोड्ने टनेल, बसडक्ट, माथिल्लो म्यानीफोल्ड, पावरहाउस र ट्रान्सफर्मर जोड्ने टनेल, होरीजन्टल प्रेसर टनेल र सो जोड्ने टनेल पूर्ण रुपमा खन्ने कार्य सम्पन्न भएको छ l

पावरहाउस खन्ने कार्य भने ६० प्रतिशत सम्पन्न भएको छ l

आयोजनाको रोकिएको रुख छ्पान र कटान कार्य सम्पन्न भए लगतै सर्ज साफ्ट, प्रेसर साफ्ट र अन्य थप ६ स्थान (फेस) बाट मुख्य सुरुङ खन्ने कार्य अघि बढ्ने छ l

साथै लट-२ को कार्य पनि लट-१ सँग तालमेल मिलाई अघि बढाई आयोजनाको कार्य ब्यापारिक उत्पादन सुरु मितिमा नै सम्पन्न गर्न आयोजनाका प्रबन्ध सञ्चालक, सम्पूर्ण कर्मचारीहरू लगातय दुवै लटका ठेकेदारहरू र परामर्शदाता कम्पनी समेत प्रतिबद्ध रहेको कम्पनीले जनाएकाे छ ।