काठमाडौँ । स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशी पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले काठमाडौँ महानगरपालिका वडा नं. २ खुर्सानीटारबाट जाेशीलाई सोमबार पक्राउ गरेको हो ।
स्मार्ट टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणबाट २०७० वैशाख २ गते दूरसञ्चार सेवा सञ्चालन गर्नको लागि आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र लिएर सञ्चालन भएको हो ।
स्मार्ट टेलिकम प्रा. लि. ले नियमानुसार अनुमतिपत्र नवीकरण नगरेको कारणबाट दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा (५) बमोजिम मिति २०८० वैशाख ३ गतेदेखि अनुमतिपत्र स्वतः रद्द भएको थियो ।
दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम १८ बमोजिम सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएको थियाे ।
नेपाल सरकारको मातहत गएकाे सम्पत्ति बेइमानी पूर्वक सरकारको हक टुटाउने उद्देश्यकासाथ काम गरेर ठगी तथा आपराधिक विश्वासघात गरेकाे कसूरमा जाेशीलाई पक्राउ गरिएकाे सिआईबीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्