काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घमा अञ्जन श्रेष्ठले अन्तिम समयमा रणनीतिक गल्ती गर्दा आफ्नो मातृ सङ्घमा क्षति व्यहोरेका छन् ।
सबै पदाधिकारी जित्दा श्रेष्ठले आफ्नो मातृ सङ्घ तर्फकाे उपाध्यक्ष जोगाउन सकेनन् भने सदस्यमा पनि अपेक्षाभन्दा कमजोर उपस्थिति देखिएको छ । श्रेष्ठ वस्तुगत संघका ‘क्याडर’ हुन् ।
उनले वस्तुगत उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षको चुनाव जितेका थिए । विधानअनुसार उनी स्वत : महासङ्घको अध्यक्ष भएका छन् ।
अब तीन वर्ष उनले उद्योग वाणिज्य महासङ्घको नेतृत्व गर्नेछन् । श्रेष्ठले दुईदिनभित्र गरेको रणनीतिक गल्तिको सिकार वस्तुगत उपाध्यक्षका उम्मेदवार शिवप्रसाद घिमिरे र केन्द्रीय कार्यकारिणी समिति सदस्यका उम्मेदवार बनेका छन् ।
चुनावमा सबै चलखेल हुने र नतिजा अनिश्चित हुने भए पनि घिमिरे समूह चुनाव जित्नेमा ढुक्क जस्तै देखिन्थ्यो ।
आन्तरिक रूपमा स्वतन्त्र मत सर्वेक्षण गराएको घिमिरे समूहले कुल मतको ६० प्रतिशत प्राप्त गर्ने अपेक्षा गरेको थियो ।
बढीमा ४ जना सदस्य मात्रै गुमाउन सक्ने आकलन घिमिरे प्यानलको थियो । मतपरिणाम सार्वजनिक हुँदा भने अन्य निर्वाचन क्षेत्रभन्दा वस्तुगतमा उलटफेर भएको छ ।
कहाँ भयो गल्ती ?
यो निर्वाचनमा उद्योग वाणिज्य सङ्घको नेतृत्वका लागि दुई समूह चुनावी मैदानमा उत्रिएका थिए ।
एउटा समूहले हेमराज ढकाललाई वरिष्ठ उपाध्यक्षमा प्रस्ताव गरेर टिम घोषणा गरेको थियो । उक्त टिमलाई अध्यक्ष चन्द्र ढकालले समर्थन गरेका थिए । अञ्जन समूहले भने विवादका कारण मत तलमाथी हुने आशङ्कमा वरिष्ठ उपाध्यक्षको उम्मेदवार घोषणा गरेको थिएन ।
अञ्जन समूहमा किशोर प्रधान, भास्करराज राजकर्णिकार, सुरकृष्ण वैद्य, रामचन्द्र संघई, दिनेश श्रेष्ठ वरिष्ठ उपाध्यक्षको आकाङक्षी थिए ।
कोषाध्यक्षका उम्मेदवारको नाम पनि सार्वजनिक गरिएको थिएन । वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष नवनिर्वाचित केन्द्रीय कार्यकारिणी समितिबाट निर्वाचित हुने प्रावधान छ ।
चुनावी परिणाम तलमाथि पर्ने आशङ्कामा वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको नाम सार्वजनिक भएको थिएन ।
निर्वाचन सकिएपछि वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षका उम्मेदवारको नाम टिममा छलफल गरेर टुङ्ग्याउने भनिएको थियो ।
यसैबिचमा निर्वाचनको दुईदिन अघि मात्रै अञ्जनले वरिष्ठ उपाध्यक्षको उम्मेदवार सुरकृष्ण र कोषाध्यक्षको उम्मेदवार मनिषलाल प्रधान भनेर जानकारी गराए ।
यो घोषणापछि वरिष्ठ उपाध्यक्षका अन्य आकाङ्क्षीको मत प्रभावित भएको शिव घिमिरे समूहले निष्कर्ष निकालेको छ ।
घिमिरे निकट स्रोतले भन्यो,“चुनावका विभिन्न पाटो हुन्छन् तर दुईदिन अघिमात्रै वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको उम्मेदवारको नाम अञ्जन श्रेष्ठबाट आउनुले पनि नतिजा प्रभावित पार्यो ।”
अन्य क्षेत्रमा राम्रो नतिजा निकाल्दा वस्तुगतमा भने अञ्जन समूहले उपाध्यक्षसहित झण्डै आधार सदस्यले चुनावमा पराजय व्यहोरेका छन् ।
स्रोतले भन्यो,“अन्य निर्वाचन क्षेत्रभन्दा वस्तुगत सङ्घको निर्वाचन बढी पेचिलो थियो । जहाँ कमजोर थियो विपक्षीले त्यही प्रहार गरे ।”
यो नतिजाले अब वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयनमा प्रभाव पर्न सक्ने छ ।



प्रतिक्रिया दिनुहोस्