एसईई २०८२ को नतिजा एसएमएस, आईभीआर र वेबसाइटबाट हेर्न सकिने


काठमाडौँ । कक्षा १० काे माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा एसएमएस, आईभीआर तथा विभिन्न वेबसाइटमार्फत प्रकाशित गर्ने तयारी गरेको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले जनाएकाे छ ।

परीक्षा बोर्डले सूचना जारी गर्दै एसईई २०८२ को नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा हेर्नका लागि विभिन्न सेवा प्रदायक संस्था र वेबसाइटलाई स्वीकृति दिएको जनाएको हो ।

सूचनाअनुसार नेपाल टेलिकमको १६०० नम्बरमा फोन गरी आईभीआर सेवा प्रयोग गरेर नतिजा थाहा पाउन सकिनेछ । त्यस्तै एसएमएसमार्फत नतिजा हेर्नका लागि जानकी टेक्नोलोजीको ३५००१ र एम्बिसन गुरुको ३१००६ नम्बर प्रयोग गर्न सकिने बोर्डले जनाएको छ ।

यस्तै बोर्डले नतिजा प्रकाशनका लागि आधिकारिक तथा साझेदार वेबसाइटहरूको सूची पनि सार्वजनिक गरेको छ । नतिजा हेर्न www.see.gov.np, www.neb.gov.np र नेपाल टेलिकमको www.see.ntc.net.np सहित विभिन्न वेबसाइट प्रयोग गर्न सकिनेछ ।

यसका साथै कान्तिपुर, एजुसञ्जाल, खल्ती, एनसेल, कलेज इन्फो नेपाल, द कनेक्ट प्लस, नीमा एकेडेमी, फिनिक्स एजुकेसन फाउन्डेसन, मेरो स्टडी लगायतका प्लेटफर्मबाट पनि नतिजा हेर्न सकिने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

बोर्डले नतिजा सार्वजनिक भएपछि मात्रै सम्बन्धित वेबसाइट र सेवामार्फत विवरण उपलब्ध हुने स्पष्ट पारेको छ ।