स्वास्थ्य बीमालाई व्यवस्थित र जनमैत्री बनाउने तयारीमा छौँः स्वास्थ्यमन्त्री मेहता


काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले स्वास्थ्य बीमामा देखिएका समस्या हटाएर व्यवस्थित र जनमैत्री बनाउने गरी सरकारले तयारी गरिरहेको जानकारी दिएकी छिन् । 

सोमबार वीर अस्पतालमा ‘राष्ट्रिय सरसफाई सप्ताह’ शुभारम्भ गर्ने क्रममा उनले स्वास्थ्य बीमामा केही पेचिलो समस्या रहेको स्वीकार गर्दै त्यसलाई कसरी सरल र प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा मन्त्रालयमा गहन गृहकार्य भइरहेको जानकारी दिइन् । उनकाअनुसार स्वास्थ्य बिमा सुधारसम्बन्धी कार्ययोजना अन्तिम चरणमा पुगेको छ । सरकारले चाँडै नै नागरिकलाई सहज हुनेगरि नयाँ व्यवस्था सार्वजनिक गर्ने उनले बताइन् । 

उनले भनिन्, “स्वास्थ्य बीमामा अलिकति पेचिलो छ । यसलाई कसरी सहजीकरण गर्न सकिन्छ र जनमैत्री कसरी बनाउन सकिन्छ भनेर हामी गहन छलफल गरिरहेका छौँ । वर्कआउट भइरहेको छ, चाँडै नै थाहा पाउनुहुन्छ । हामी कसरी यसलाई सहज गर्नसक्छौँ भनेर ।”

हाल स्वास्थ्य बीमा कार्यक्रममा सेवा प्रवाह, दाबी भुक्तानी समस्या र नागरिक पहुँचमा कमजोरी लगायतका विभिन्न गुनासा उठिरहेका छन् ।