सरकारसँग सांसदहरुको मागः किसानलाई मलको अभाव नहोस्, अवरुद्ध चिया निर्यात सहज गरियोस्


काठमाडाैँ । प्रतिनिधि सभाका सांसदहरूले ठप्प रहेको चिया निर्यातका लागि तत्काल भारत सरकारसँग कूटनीतिक पहल गर्न सरकारसँग माग गरेका छन् । 

बुधबार बसेको प्रतिनिधि सभा बैठकको शुन्य समयमा सांसदहरूले किसानलाई मलको अभाव हुन नदिने गरी तत्काल आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराएका छन् ।

सांसद सुहाङ नेम्वाङ्ले ठप्प रहेको चियाको निर्यातका लागि तत्काल भारत सरकारसँग कुटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराए । उनले चिया किसान र उद्योगीहरुको संरक्षणका लागि ठोस नीति बनाउन पनि सरकारलाई सचेत गराए ।

सांसद नेम्वाङले भने, “टि बोर्ड अफ इन्डियाको पछिल्लो नीतिले चिया निर्यात ठप्प हुन पुगेको छ । यसले किसान, श्रमिक, उद्योगी, निर्यातकर्ता र देशको अर्थतन्त्रलाई प्रत्यक्ष असर पारिरहेको छ । त्यसैले म सरकारसँग आग्रह गर्न चाहन्छु–भारत सरकारसँग तत्काल कूटनीतिक पहल गरियोस, चिया निर्यातको अवरोध समाधान गरियोस् । र चिया उद्योगी र किसानहरुको संरक्षणको लागि ठोस नीति बनाइयोस् ।”

सरकारले किसानलाई मलको अभाव हुन दिन नहुने पनि सांसदहरूले बताएका छन् । सांसद सुनिल केसीले किसानले आवश्यक मल पाउने गरी व्यवस्था गर्न सरकारलाई दबाब दिएका हुन् । उनले मेलम्चीको पानी काठमाडौँका जनताले कहिलेसम्म कुर्नुपर्ने हो ? त्यसको जवाफ दिन पनि सरकारसँग माग गरे । 

उनले भने, “सरकारलाई आवश्यक मात्रामा मल पाउने व्यवस्था मिलाइयोस् । काठमाडौं क्षेत्र नम्बर २ का जनताले मेलम्चीको खानेपानी खान अझै कहिलेसम्म कुर्नुपर्ने हो ? तीनकुनको सार्वजनिक जग्गा कुन उद्देश्यका लागि कब्जा गरियो ? यस सम्बन्धमा तत्कालीन सरकारका प्रधानमन्त्री र सम्बन्धित मन्त्रीसँग जवाफ मागियोस । यसरी राज्यले जनताको सम्पती कहिलेसम्म कब्जा गरेर राख्ने हो ?”

सांसद सुरेशकुमार चौधरीले भारतीय सीमा क्षेत्रको पूर्वाधार विकासमा जोड दिन सरकारलाई सुझाव दिए । 

उनले भने, “सीमा क्षेत्रको गाउँमा विकासको कुनै पूर्वाधार पुगेको छैन । बाटो, विद्युत, स्वास्थ्य, शिक्षा, सञ्चार समेतको समस्या छ । यस्ता बस्तीहरुमा विकासको पूर्वाधार निर्माणमा ढिलाई नगर्न म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । बाँकेका धेरै गाउँहरु हराएको जस्तो देखिएको छ । त्यहाँ विकासमार्फत ती गाउँहरुलाई अघि बढाउन आवश्यक छ । यसमा सरकारको ध्यान जाओस् ।”

बर्दियालगायतका सीमा क्षेत्रका जनताले विभिन्न खालको समस्या झेल्नुपरेको उल्लेख गर्दै त्यहाँका जनताको समस्या समाधानमा सरकार गम्भिर भएर लाग्नुपर्ने पनि सांसद चौधरीले बताए ।