स्वास्थ्य बीमामा देखिएको अनियमितता र दुरुपयोग रोक्दैछौँः स्वास्थ्यसचिव देवकोटा


काठमाडाैँ । स्वास्थ्यसचिव विकास देवकोटाले स्वास्थ्य बीमामा देखिएको अनियमितता र दुरुपयोग रोक्ने गरी गृहकार्य अघि बढाइएको बताएका छन् । 

मंगलबार विकास,आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उहाँले बीमाको दुरुपयोग बढ्दै जाँदा राज्यलाई ठूलो भार परेको भन्दै यसमा निर्मम रुपमा कडाइ गरिने बताए । उनकाअनुसार अहिले आवश्यक नभएकाहरुले ‘होल बडी चेकअप’ जस्ता परीक्षणका लागि समेत बीमा रकम प्रयोग गरिरहेका छन् ।

बीमालाई केवल अप्ठ्यारो अवस्थामा उपचारका लागि प्रयोग गर्नुपर्नेमा अनावश्यक रुपमा परिक्षण गरिदाँ ठूलो भार परेको उनले बताए । सचिव देवकोटाले अस्पतालहरूले बीमा सेवा सम्बन्धी दररेटलाई उचित रूपमा व्यवस्थापन नगरेको उल्लेख गरे ।

उनकाअनुसार निजी तथा सरकारी दर मिलाएर उच्च दर कायम गरिदाँ स्वास्थ्य बीमा थेग्नै नसक्ने स्थीतिमा पुगेको छ  हाल ती दरहरू संशोधन गर्ने प्रक्रिया अघि बढाइएको छ। आगामी बजेटमार्फत स्वास्थ्य बीमा पुर्नसंरचना गरिने समेत उनको भनाइ छ ।

उनकाअनुसार स्वास्थ्य बीमामा निर्मम रुपमा सुधार गरिनेछ ।  स्वास्थ्य बीमाको खर्च ४० देखि ५० प्रतिशतसम्म घटाउन सकिने र प्रणालीलाई दिगो बनाउन सक्ने गरी मन्त्रालयले गृहकार्य गरिरहेको छ । हाल स्वास्थ्य बीमा कार्यक्रमको वार्षिक बजेट करिब १० देखि १२ अर्ब रुपैयाँको बीचमा रहेको छ । तर सुधार नभए वार्षिक खर्च करिव २४ अर्ब रुपैयाँसम्म पुग्न सक्ने अनुमान उनले बताए । 

देवकोटाले अनियमितता र दुरुपयोग रोक्न बीमा ऐनअनुसार ५ लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था रहेको उल्लेख गर्दै उहाँले यसलाई पनि कडाइका साथ लागू गरिने बताए । देवकोटाले बीमा प्रणालीलाई दिगो बनाउन बिरामी, सेवा प्रदायक र सेवा लिने पक्षबीच समन्वय र जिम्मेवार उपयोग आवश्यक रहेको समेत जोड दिए ।