काठमाडौं । खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना (फ्यानसेप) सिन्धुपाल्चोकको आयोजनामा तथा नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया)को सहकार्यमा सञ्चालन गरिएको ‘क्लष्टरस्तरीय फार्म मेसिनरी सञ्चालन तथा मर्मत सम्भार’ सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ।
जेठ ३ देखि ५ गतेसम्म किर्तिपुरस्थित समशितोष्ण वागवानी केन्द्रमा सञ्चालन गरिएको तालिममा सिन्धुपाल्चोक र आसपासका विभिन्न पालिकाका १८ जनाको सहभागिता रहेको थियो। सहभागीमध्ये १५ जना पुरुष र ३ जना महिला रहेका थिए। तालिममा त्रिपुरासुन्दरी गाउँपालिका–२, सुनकोशी गाउँपालिका–४, मेलुङ गाउँपालिका–५ तथा बैतेश्वर गाउँपालिका–७ का प्रतिनिधिहरू सहभागी भएका थिए।
तालिममा कृषि मेशिनरी सञ्चालन, मर्मत सम्भार, प्रयोग विधि तथा उपकरणको दीर्घकालीन व्यवस्थापनका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ तथा प्राविधिकहरूले सहजीकरण गरेका थिए। सहजीकरण गर्ने स्रोत व्यक्तिहरूमा डीडीसी लैनचौरका ललितबहादुर जिरेल, नेपाल एग्रिकल्चरल इन्जिनियरिङ सेन्टरका डा. गंगाराम भण्डारी, दाहाल ट्रेडिङ कन्सर्नका दुर्गा दाहाल, नेपाल कृषि मेसिनरी व्यवसायी संघका कृषि इन्जिनियर अमृत बोहोरा, एफएओ–टीए टु फ्यानसेपका वातावरण तथा सामाजिक सुरक्षा विशेषज्ञ शिवप्रसाद आचार्य, सहजकर्ता रमेश श्रेष्ठ तथा एसकेटी नेपालका सुभाष श्रेष्ठ लगायतले सहजीकरण गरेका थिए।
कार्यक्रममा नेपाल कृषि मेसिनरी व्यवसायी संघका अध्यक्ष कृष्ण शर्माले कृषि क्षेत्रमा सीप विकासको महत्त्वबारे प्रकाश पारे। समापन कार्यक्रमकाे प्रमुख आतिथिका रूपमा बाेल्दै शर्माले केवल कृषकलाई मेसिनरी तथा उपकरण वितरण गरेर मात्र पर्याप्त नहुने उल्लेख गर्दै बिक्रीपछिको सेवा, सञ्चालन तथा मर्मत व्यवस्थापनलाई प्रभावकारी बनाउन यस्ता तालिम आवश्यक हुने बताए।
उनले हाल सञ्चालन गरिएको तीन दिने तालिमले सहभागीलाई अर्ध-दक्ष बनाउने भए पनि पूर्ण दक्ष जनशक्ति उत्पादनका लागि थप १० देखि १५ दिनसम्मको विशेष तालिम आवश्यक रहेको धारणा राखे। उनका अनुसार यसबाट स्थानीय तहमा दक्ष प्राविधिक उत्पादन हुनुका साथै स्थायी स्वरोजगार सिर्जना गर्न समेत मद्दत पुग्नेछ।
कार्यक्रममा ‘एक पालिका, एक वर्कसप’ अवधारणालाई पनि प्राथमिकताका साथ अघि सारिएको थियो। कार्यक्रम लागू भएका चार पालिकामा पालिका स्तरीय वर्कसप स्थापना गर्नुपर्नेमा जोड दिँदै स्थानीय स्तरमै मेशिन मर्मतको सुविधा उपलब्ध गराउनुपर्ने आवश्यकता औंल्याइएको थियो।
कार्यक्रममा आगामी वर्षको बजेट तथा योजना निर्माणका क्रममा आवश्यक परे मेसिनको संख्या केही घटाएर भए पनि वर्कसप स्थापनामा लगानी गर्न सुझाव दिइएको थियो। यसले दीर्घकालीन रूपमा कृषकलाई सहज सेवा उपलब्ध गराउने र कृषि यान्त्रिकीकरणलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रमको समापनका अवसरमा नेपाल कृषि मेसिनरी व्यवसायी संघलाई प्राविधिक सहयोगका लागि धन्यवाद ज्ञापन गरिएको थियो। साथै आगामी दिनमा पनि कृषि प्रविधि तथा प्राविधिक प्रवर्द्धनका कार्यक्रमहरूमा सरकारी तथा गैरसरकारी निकायसँग सहकार्य गर्न संघ तयार रहने प्रतिबद्धता व्यक्त गरिएको छ।







प्रतिक्रिया दिनुहोस्