दैलेखस्थित पेट्रोलियम उत्खनन परियोजना सफल बनाउन सडकको व्यवस्था तत्काल मिलाओस्ः बासना थापा


काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी प्रमुख सचेतक बासना थापाले दैलेखस्थित पेट्रोलियम उत्खनन परियोजनालाई प्रभावकारी हुने गरी सडकको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले उक्त परियोजनालाई सफलतापूर्वक सम्पन्न गराउन पनि सरकारले सुर्खेत–दैलेख सडकखण्ड व्यवस्थित बनाउन ढिलाई गर्न नहुने स्पष्ट पारिन् । सांसद थापाले दैलेख जिल्ला अस्पतालको व्यवस्थापनमा सुधार गर्न पनि सरकारलाई सचेत गराइन् ।

उक्त अस्पतालको प्रभावकारी सञ्चालन गर्ने काममा सरकारले तत्काल  आवश्यक कदम चाल्नुपर्ने उनको भनाइ थियो । 

प्रमुख सचेतक थापाले भनिन्,”कर्णाली प्रदेशको जीवन रेखाको रुपमा रहेको सुर्खेत–दैलेख सडक खण्ड आज पनि साँघुरो र जोखिमपूर्ण अवस्थामा छ । दैलेखमा संचालन भईरहेको पेट्रोलियम उत्खनन परियोजनलाई प्रभावकारी र सफल बनाउन सडक फराकिलो बनाउन तत्काल आवश्यक देखिन्छ । म यस विषयमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । त्यसैगरी दैलेख जिल्ला अस्पताल अस्तव्यस्त अवस्थामा छ । त्यसको प्रभावकारी संचालनका लागि आवश्यक काम गरियोस् ।”

प्रमुख सचेतक थापाले सरकारले स्वास्थ्य चौकीहरुको सुधारमा पनि ध्यान दिनुपर्ने बताइन् ।