काठमाडौँ । विराटनगरकाे पाँचतारे ‘होटल लेमन ट्रि प्रिमियम’ आर्थिक दबाबमा परेको देखिएकाे छ ।
शुभ इन्टरनेसनल हस्पिटालिटी प्रा.लि.ले निर्माण गरेको होटेल सञ्चालनमा नआउँदै आर्थिक दबाब झेलेको हो ।
२०२५ अक्टोबरपछि ऋण तिर्न सुरु गरेको कम्पनीले पछिल्लो समय ऋणमा ढिलाई गरेको छ ।
ऋण तिर्न ३० दिनभन्दा बढी ढिलाइ गरेपछि रेटिङ् कम्पनी इक्राले लेमन ट्रि प्रिमियरको ऋण रेटिङ घटाएको छ । नियमित ऋण तिर्न ३० दिनभन्दा बढी ढिलाइ गरेपछि दीर्घकालीन ऋण रेटिङ्ग र अल्पकालीन ऋण रेटिङ झारिदिएको हो ।
व्यवस्थापनले होटल बैशाखको अन्तिम हप्ताबाट औपचारिक सञ्चालनमा आएको घोषणा गरेको छ ।
होटेल सञ्चालन नगर्दै ऋण भुक्तानी सुरु भएकाले होटल निर्माणमा नगद अभावसमेत झेलेको इक्राले जनाएको छ ।
होटेलको लागत झण्डै १२ प्रतिशतले बढेको थियो । परियोजना ७५ प्रतिशत ऋणमा निर्भर रहेका कारण पनि वित्तीय दबाब अझै बढ्ने इक्राले उल्लेख गरेको छ ।
उद्योगमा बढ्दो प्रतिस्पर्धा, प्रारम्भिक वर्षमा कम आम्दानी र सञ्चालन जोखिमका कारण कम्पनीको ऋण तिर्ने क्षमता कमजोर हुने चिन्ता रेटिङ विवरणमा छ ।
लेमन ट्रि प्रिमियर ब्रान्डअन्तर्गत सञ्चालन हुने, विराटनगरको पहिलो पाँचतारे होटल भएको र भारतीय ग्राहक आकर्षित गर्ने सम्भावना रहेको सकारात्मक पक्ष पनि औँल्याइएको छ ।
समयमै ऋण नतिर्नु, नगद अभाव देखिनु र परियोजना सञ्चालनमा केही ढिलाई हुनुले होटल आर्थिक दबाबमा पर्ने रेटिङमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्