डेरी एसोसिएसनद्वारा विश्व दुग्ध दिवस २०२६ का लागि सप्ताहव्यापी कार्यक्रम घोषणा



काठमाडौँ। नेपाल डेरी एसोसिएसनले विश्व दुग्ध दिवस २०२६ को अवसरमा देशभर विभिन्न जनचेतनामूलक तथा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्ने भएको छ। एसोसिएसनले आज पाेखारामा पत्रकार सम्मेलन गर्दै दुग्ध क्षेत्रको दिगो विकास, किसान–उद्योग समन्वय र उपभोक्तालाई गुणस्तरीय दुग्ध पदार्थ उपलब्ध गराउने उद्देश्यसहित सप्ताहव्यापी कार्यक्रम आयोजना गरिने जनाएको हो।

नेपालमा पनि विगत दुई दशकभन्दा बढी समयदेखि विभिन्न सरकारी, निजी तथा सहकारी संस्थाहरूको सहभागितामा विश्व दुग्ध दिवस मनाइँदै आइएको छ। कृषि प्रधान देश नेपालमा दुग्ध क्षेत्र ग्रामीण अर्थतन्त्र, महिला किसानको सशक्तीकरण र पोषण सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएको एसोसिएसनको भनाइ छ।

यस वर्ष विश्व दुग्ध दिवस २०२६ को अन्तर्राष्ट्रिय नारा महिला किसानहरूको उत्सव रहेको छ भने राष्ट्रिय नारा “दुग्ध क्षेत्रको दिगो विकासः पोषण सुरक्षा र आर्थिक समृद्धिको आधार” तय गरिएको छ।

नेपाल डेरी एसोसिएसनका अनुसार जेठ १२ गते पोखरामा पत्रकार सम्मेलन, जेठ १३ गते काठमाडौंमा विद्यालयस्तरीय कविता प्रतियोगिता, जेठ १४ गते उपभोक्ता सचेतना कार्यक्रम र जेठ १८ गते ललितपुरमा राष्ट्रिय दुग्ध विकास बोर्डको आयोजनामा मुख्य कार्यक्रम सञ्चालन गरिनेछ। साथै जेठ १५ देखि १८ गतेसम्म सातै प्रदेशमा विविध जनचेतनामूलक तथा प्रवर्द्धनात्मक गतिविधि सञ्चालन गरिने पनि जनाइएको छ।

संयुक्त राष्ट्रसंघ अन्तर्गतको खाद्य तथा कृषि संगठनले सन् २००१ देखि जुन १ लाई विश्व दुग्ध दिवसका रूपमा मनाउँदै आएको छ। सो अवसरमा विश्वभर १०० भन्दा बढी देशमा जनचेतनामूलक कार्यक्रम, विद्यालय गतिविधि र स्वास्थ्य अभियान सञ्चालन हुँदै आएका छन्। संगठनका अनुसार विश्वभर एक अर्बभन्दा बढी मानिसको जीविका दुग्ध क्षेत्रमा निर्भर रहेको र अर्बौं मानिसले दुग्धजन्य पदार्थ उपभोग गर्ने गरेका छन्।

वि.सं. २०५५ सालमा स्थापना भएको नेपाल डेरी एसोसिएसन देशभरका साना, मझौला, ठूला तथा घरेलु डेरी उद्योगहरूको प्रतिनिधित्व गर्ने राष्ट्रिय छाता संगठन हो। संस्थामा सातै प्रदेशका २५ जिल्लामा फैलिएका करिब ३०० भन्दा बढी डेरी उद्योगहरू आवद्ध रहेका छन्। डेरी उद्योगीहरूको हकहित संरक्षण, नीति–सम्बन्धी विषयमा सरोकारवाला निकायसँग समन्वय तथा संवाद गर्दै आएको एसोसिएसन हाल २७ वर्ष पूरा गरी २८औँ वर्षमा प्रवेश गरेको जनाएको छ।

एसोसिएसनका अनुसार नेपालमा दुग्ध क्षेत्र कृषि अर्थतन्त्रको महत्वपूर्ण आधारस्तम्भका रूपमा रहेको छ। दैनिक करिब ७६ लाख लिटर दूध उत्पादन हुनेमध्ये करिब ३१ लाख लिटर दूध मात्र बजारमा प्रवेश गर्ने गरेको छ। बजारमा आउने दूधमध्ये करिब १७ प्रतिशत औपचारिक (लेबलयुक्त तथा प्याकेजयुक्त) रूपमा बिक्री हुने गरेको र बाँकी ठूलो हिस्सा अनौपचारिक बजारमा कारोबार हुने गरेको उल्लेख गरिएको छ। अझै पनि करिब ५० प्रतिशत दूध बजारसम्म नआएको भन्दै त्यसलाई औपचारिक प्रणालीमा ल्याउनु मुख्य चुनौती रहेको एसोसिएसनले जनाएको छ।

दुग्ध क्षेत्रमा निजी क्षेत्रमार्फत करिब ५० हजार प्रत्यक्ष रोजगारी सिर्जना भएको तथा अनौपचारिक क्षेत्रमा पनि समानान्तर रोजगारी रहेको अनुमान गरिएको छ। यस क्षेत्रमा करिब ६ लाख किसान परिवार प्रत्यक्ष रूपमा आश्रित रहेको र निजी डेरी क्षेत्रमा करिब ५० अर्ब रूपैयाँ लगानी रहेको तथ्याङ्क पनि सार्वजनिक गरिएको छ। दैनिक कारोबार करिब २० करोड रुपैयाँभन्दा बढी रहेको र ग्रामीण क्षेत्रबाट शहरी क्षेत्रमा दैनिक ठूलो मात्रामा आर्थिक प्रवाह हुने गरेको एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालकाे दाबी छ ।

एसोसिएसनले दुग्ध क्षेत्रले ग्रामीण स्वरोजगार, किसानको आय वृद्धि, गरिबी न्यूनीकरण, पोषण सुरक्षा तथा औद्योगिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको जनाएको छ। नेपालमा व्यवस्थित रूपमा डेरी उद्योगको सुरुवात वि.सं. २००९ सालमा काभ्रेपलाञ्चोकको नालाबाट भएको मानिन्छ।