काठमाडौँ । सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई कन्सुलर सेवा सहज बनाउन ‘मोफा मित्र’ एप सञ्चालनमा ल्याएको छ । परराष्ट्र मन्त्रालयअन्तर्गत कन्सुलर सेवा विभागमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनाल ले एपको शुभारम्भ गरेका छन् ।
अब विदेशमा रहेका नेपाली तथा उनका परिवारले एपमार्फत अनलाइन निवेदन दर्ता गर्न, गुनासो राख्न, सम्बन्धित नेपाली नियोगसँग सम्पर्क गर्न तथा गुनासोको अवस्थाबारे ट्रयाक गर्न सक्नेछन् ।
मन्त्री खनालले विदेशमा रहेका नेपालीहरूको यकिन तथ्यांक अभावले उद्धार र सहायतामा समस्या हुने गरेको उल्लेख गर्दै सरकारले विभिन्न निकाय र गन्तव्य मुलुकबाट प्राप्त विवरणका आधारमा तथ्यांक संकलन सुरु गरेको जानकारी दिए ।
उनका अनुसार हाल करिब ५० लाख नेपाली विदेशमा रहेका छन् र ६ जना नेपालीमध्ये १ जना विदेशमा रहेको अवस्था छ । विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई सहज रूपमा सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले एप सञ्चालनमा ल्याइएको उनले बताए ।
मन्त्री खनालले ‘लिगल नेपाल कन्सुलर जिओभी एनपी’ अनलाइन प्रणाली पनि सञ्चालनमा ल्याइएको जानकारी दिँदै चालु आर्थिक वर्षभित्र सबै ७५३ स्थानीय तहमा सेवा विस्तार गर्ने लक्ष्य रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्