काठमाडौँ । नेपालमा जीवन, निर्जीवन तथा लघु बीमा कम्पनीहरूको शाखा विस्तारसँगै बीमा क्षेत्रको पहुँच र कारोबार दुवै बढ्दै गएको देखिएको छ ।
आर्थिक सर्वेक्षण २०८२/०८३ अनुसार चालु आर्थिक वर्षको फागुनसम्म देशभर बिमा कम्पनीका शाखा सङ्ख्या २ हजार ९ सय ९९ पुगेको छ ।
तथ्याङ्कअनुसार २०८२ फागुनसम्म जीवन बीमाका १ हजार ७ सय ७४, निर्जीवन बीमाका १ हजार १६ तथा लघु बीमाका २ सय ९ शाखा सञ्चालनमा रहेका छन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या २ हजार ९ सय ९२ रहेको थियो।

नेपाल बीमा प्राधिकरणका अनुसार हाल नेपालमा जीवन र निर्जीवन गरी कुल ३७ बिमा कम्पनी सञ्चालनमा छन्, जसमा स्वदेशी लगानीका कम्पनीहरूको हिस्सा सबैभन्दा बढी रहेको छ ।
वैदेशिक रोजगारीमा जाने श्रमिकलाई लक्षित म्यादी जीवन बीमाको दायरा विस्तार भएसँगै देशको कुल जनसङ्ख्याको ४९.९ प्रतिशतमा जीवन बीमाको पहुँच पुगेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । गत असारसम्म यस्तो पहुँच ४८.३ प्रतिशतमा सीमित थियो।
१६ प्रतिशतले बढ्यो व्यवसाय
बीमा व्यवसायको आकार पनि उल्लेखनीय रूपमा बढेको छ । २०८२ फागुनसम्म जीवन बिमाबाट १ खर्ब २७ अर्ब ६९ करोड रुपैयाँ र निर्जीवन बीमाबाट ३२ अर्ब ५३ करोड रुपैयाँ बिमा शुल्क संकलन भएको छ । यससँगै कुल बिमा शुल्क १६.१ प्रतिशतले बढेर १ खर्ब ६० अर्ब २२ करोड रुपैयाँ पुगेको छ ।
सक्रिय बीमालेखको सङ्ख्या पनि उच्च रहेको छ । जीवन बीमातर्फ १ करोड ६२ लाखभन्दा बढी तथा निर्जीवन बीमातर्फ २१ लाखभन्दा बढी सक्रिय बीमा रहेको सर्वेक्षणमा उल्लेख गरिएको छ ।

४४ अर्ब १५ करोड दाबी भुक्तानी
दाबी भुक्तानीतर्फ जीवन बिमा र निर्जीवन बिमामा ४४ अर्ब १५ करोड रुपैयाँ भुक्तानी गरिएको छ ।
जसमध्ये जीवन बिमामा १ लाख २५ हजारभन्दा बढी दाबीबापत २६ अर्ब ८४ करोड रुपैयाँ भुक्तानी गरिएको छ भने निर्जीवन बीमातर्फ ९४ हजारभन्दा बढी दाबीबापत १७ अर्ब ३१ करोड रुपैयाँ भुक्तानी गरिएको छ ।
बीमा क्षेत्रले रोजगारी सिर्जनामा पनि योगदान पु¥याएको देखिएको छ ।आर्थिक सर्वेक्षणअनुसार जीवन तथा लघु जीवन बिमाातर्फ मात्रै १२ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् भने ४ लाखभन्दा बढी अभिकर्ता अप्रत्यक्ष रूपमा बीमा व्यवसायमा संलग्न रहेका छन्।
साथै १ हजार २ सयभन्दा बढी सर्भेयर तथा १६ पुनर्बीमा अभिकर्ता पनि इजाजत प्राप्त गरी कार्यरत रहेका छन्।



प्रतिक्रिया दिनुहोस्