काठमाडाैँ । काठमाडौँको चन्द्रागिरी नगरपालिकाको मच्छेगाउँको मत्स्यनारायण मन्दिरमा ‘पुरुषोत्तम मेला’ जारी छ । जेठ ३ गतेदेखि जारी एक महिने पुरुषोत्तम मास (अधिक मास) मेलामा काठमाडौं उपत्यकासहित देशभरबाट लाखौँको संख्यामा श्रद्धालु भक्तजनहरू भगवान नारायणको पूजा आराधना गर्न आउने गरेका छन् ।
धार्मिक मान्यताअनुसार पुरुषोत्तम मासमा भगवान नारायणको श्रद्धापूर्वक पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट भई पुण्य प्राप्त हुने जनविश्वास रहेको मत्स्यनारायण मन्दिरका पूजारी शैलेश आचार्यले बताए । उनले भगवान विष्णुले दस अवतार लिँदा सबभन्दा पहिले मत्स्य शरीर धारण गरी प्रलय कालमा समुन्द्रमा डुङ्गाको काम गरी वेदलाई सुरक्षा गरेको पुराणमा उल्लेख रहेको बताए ।
उनले भगवान कृष्ण स्वयं ग्वालाहरूको उद्धारका क्रममा उक्त स्थानमा आएको धार्मिक विश्वास रहेको बताए । उनले द्वापर युगमा भगवान कृष्णले यही स्थानलाई भगवान विष्णुको मत्स्य अवतार भएको पहिलो स्थलका रूपमा चिनाउनुभएको उल्लेख गरे ।
पुरुषोत्तम महिनामा सम्पूर्ण तीर्थस्थलका देवी–देवता तथा भगवानहरू यहाँ आएर मोक्ष प्राप्त गरेको धार्मिक विश्वासअनुसार अधिक मास मेला शुरु भएको पुजारी आचार्यको भनाइ छ ।
उनले भने, “द्वापर युगमा भगवान कृष्णले ग्वालाहरुलाई उद्धार गर्ने क्रममा यो ठाउँमा आउनुभएको र उहाँले यहाँ मत्स्य अवतार भएको पहिलो ठाउँ भनेर प्रष्ट गराउनुभएको हो । अनि त्यसपछि पुरुषोत्तम महिनामा चाँही सम्पूर्ण तीर्थस्थलका देवी, देवता, भगवानहरु यहाँ आएर मात्र मोत्स्य हुने भन्ने कुरा त्यहाँबाट शुरु भएको हो । अनि पुरुषोत्तम महिनामा यो मन्दिरमा मेला लाग्ने चलन पनि त्यहाँबाट नै शुरु भएको हो । पुरुषोत्तम महिनामा भक्तजनहरु यहाँ आउनुको कारण के हो भने त्यो समयमा भगवानहरु समेत यहाँ आएर मोक्ष पाउनको लागि भगवान पुरुषोत्तमको दर्शन गर्नुभएको हो । त्यसकारण मानिसले पाउने एकबारको जुनीमा मोत्स्य पाउनको लागि ठाउँमा आउनुपर्ने मैले बुझेको छु ।”
माछाको मुखबाट प्रकट भएको एक फिट अग्लो चार हातमा शंख, चक्र, गदा र पद्म धारण गरेको भगवान् मत्स्यनारायणको मूर्ति यहाँको मुख्य आकर्षणका रुपमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्