काठमाडाैँ । सरकारले बजेट भाषणबाटै नेपाल पुनर्बीमा कम्पनीका लागि कुल व्यापारको २० प्रतिशत सुनिश्चित गरिदिएको छ ।
जेठ १५ गते अर्थमन्त्री डा. स्वार्णिम वाग्लेले गरेको बजेट भाषणमा ‘नेपाली बीमा कम्पनीबाट जारी हुने बीमाङ्कको कम्तीमा २० प्रतिशत नेपाल पुनर्बीमा कम्पनीबाट गराउनुपर्ने व्यवस्था मिलाउनेछौँ’ भनिएको छ ।
नेपालमा अहिले सरकारी लगानी समेत रहेको नेपाल पुनर्बीमा कम्पनी र निजी क्षेत्रको हिमालयन रिइन्सोरेन्स कम्पनी रहेका छन् ।
नेपाल पुनर्बीमाका लागि भने सरकारले बजेटबाटै कुल बीमाको २० प्रतिशत व्यापार सुनिश्चित गरिदिएको हो । यस्तै दीर्घकालीन प्रकृतिका बीमाको सामूहिक बीमा कोषको नेतृत्व तथा सञ्चालन नेपाल पुनर्बीमा कम्पनीबाट हुने व्यवस्था गर्ने बजेटमा उल्लेख छ ।
जोखिम न्यूनीकरणको लागि पुनर्बीमाको निश्चित हिस्सा विदेशी पुनर्बीमा कम्पनीसँग गराउने व्यवस्था मिलाउने पनि बजेटमा उल्लेख छ ।
सरकारले बजेटबाटै व्यापार सुनिश्चित गरिदिएपछि नेपाल पुनर्बीमा कम्पनीलाई सहज हुने छ । हिमालयन रिलाई भने यो व्यवस्थाले अफ्ठेरो पार्ने छ ।



प्रतिक्रिया दिनुहोस्