बजेटले निजी क्षेत्रको मनोबल बढाउँछ, अर्थतन्त्रलाई पुनः गति दिन्छ स् सीएनआई


काठमाडौं । नेपाल उद्योग परिसंघ ९सीएनआई० ले आर्थिक वर्ष २०८३/८४ को बजेटले निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्ने, उत्पादन र लगानीलाई प्रोत्साहन गर्ने तथा सुस्त रहेको अर्थतन्त्रलाई पुनः चलायमान बनाउने विश्वास व्यक्त गरेको छ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा बोल्दै सीएनआई अध्यक्ष वीरेन्द्रराज पाण्डे ले बजेटले औद्योगिक विकास र लगानी प्रवर्द्धनका लागि सकारात्मक सन्देश दिएको बताए ।

उनका अनुसार २७३ प्रकारका औद्योगिक कच्चा पदार्थमा भन्सार दर घटाउने, ३६० भन्दा बढी वस्तुमा अन्तःशुल्क खारेज गर्ने तथा आयकर ऐनको दफा ५७ सम्बन्धी सुधारले उद्योग व्यवसायको लागत घटाउन र उत्पादन बढाउन सहयोग पुग्नेछ।

परिसंघले व्यक्तिगत आयकर छुटको सीमा १० लाख रुपैयाँ पुर्‍याउने, गैरव्यावसायिक हस्तान्तरणलाई करको दायराबाहिर राख्ने तथा विदेशी लगानीकर्तालाई नाफा र रोयल्टी फिर्तामा सहजता दिने व्यवस्थालाई पनि स्वागत गरेको छ।

यस्तै, लगानी बोर्डबाट स्वीकृत परियोजनाले पुनः अन्य निकायबाट अनुमति लिनु नपर्ने व्यवस्था, स्वचालित भ्याट फिर्ता र औद्योगिक क्षेत्र निजी क्षेत्रलाई सञ्चालन गर्न दिने नीतिले लगानी वातावरण सुधार गर्ने अपेक्षा गरिएको छ।

ऊर्जा क्षेत्र सुधार, ‘टेक अर पे’ मोडलमा पीपीए, हरित युरिया उद्योग तथा पुँजी बजारमा इन्ट्राडे ट्रेडिङ, सर्ट सेलिङ र अन्तर्राष्ट्रिय बजार पहुँचसम्बन्धी व्यवस्थालाई पनि परिसंघले सकारात्मक कदमका रूपमा व्याख्या गरेको छ।

यद्यपि, उत्पादनमूलक उद्योगका लागि जग्गाको हदबन्दी हटाउने, सरकार–उद्योगबीचको बक्यौता मिलान गर्ने, बन्द उद्योगलाई ‘डोर्मेन्ट स्टेटस’ दिने तथा डाटा माइनिङ र आर्टिफिसियल इन्टेलिजेन्स क्षेत्रका स्पष्ट नीतिहरू बजेटमा नसमेटिएको भन्दै परिसंघले केही सुधारका विषय अझै बाँकी रहेको जनाएको छ।

सीएनआईले बजेटले देखाएको सुधारको दिशालाई प्रभावकारी कार्यान्वयनमार्फत व्यवहारमा उतार्नुपर्नेमा जोड दिँदै निजी क्षेत्रको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।