सडक मर्मत–सम्भारमै अर्बौं खर्चिंदै सरकार, फेरिएला त सडकको मुहार ?


काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा ‘राष्ट्रव्यापी सडक मर्मत–सम्भार अभियान’ सञ्चालन गर्दै सडकका खाल्डाखुल्डी पुर्ने, जीर्ण सडक पुनःस्थापना गर्ने तथा नियमित मर्मतका लागि २८ अर्ब ५२ करोड रुपैयाँ विनियोजन गरेको छ।

बजेटमार्फत काठमाडौं उपत्यकासहित प्रमुख शहरी सडकलाई धुलोमुक्त र खाल्डाखुल्डीमुक्त बनाउने लक्ष्य राखिएको छ। साथै एक हजार किलोमिटर सडक कालोपत्र र २७५ वटा पक्की पुल निर्माण गर्ने योजना पनि सरकारले अघि सारेको छ।

निर्माण व्यवसायी रमेश शर्माले सडक मर्मत र पुल निर्माणका लागि पर्याप्त बजेट विनियोजन हुनु सकारात्मक भएको बताए। उनका अनुसार विगतमा न्यून बजेटका कारण पुल निर्माण वर्षौंसम्म लम्बिने अवस्था थियो।

पूर्वसचिव केशवकुमार शर्माले पनि सडक मर्मत–सम्भारलाई प्राथमिकता दिनु सकारात्मक कदम भएको बताए। उनले यसले यातायात लागत घटाउने, यात्रा समय बचत गर्ने तथा सडक सुरक्षामा सुधार ल्याउने विश्वास व्यक्त गरे। तर हुलाकी राजमार्गका केही खण्डमा रहेको विवाद र पुल निर्माणको मौसमी प्रकृतिका कारण तीन वर्षभित्र सबै आयोजना सम्पन्न गर्ने लक्ष्य चुनौतीपूर्ण हुन सक्ने उनको भनाइ छ।

सरकारले विद्युत् प्रसारण लाइन विस्तारलाई समेत प्राथमिकतामा राखेको छ। सरोकारवालाले बजेटका व्यवस्था सकारात्मक भए पनि प्रभावकारी कार्यान्वयन नै मुख्य चुनौती रहने बताएका छन्।