काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको भेटवार्ता फलदायी रहेको जनाएका छन्। भेटपछि लामिछानेले सामाजिक सञ्जाल मार्फत मोदीसँगको भेटवार्ता फलदायी भएको बताएका हुन् ।
लामिछानेले प्रधानमन्त्री मोदीसँग करिब एक घण्टा लामो र सार्थक संवाद भएको उल्लेख गर्दै नेपाल र भारतबीच विकास–केन्द्रित कूटनीतिक सम्बन्धलाई नयाँ चरणमा पुर्याउने साझा दृष्टिकोणमा छलफल भएको बताए।
उनले विगतका सीमितताभन्दा माथि उठेर साझा सभ्यतागत सम्बन्ध, डिजिटल कनेक्टिभिटी तथा सहज पूर्वाधार सञ्जालमार्फत दुई देशबीचको सहकार्यलाई थप सुदृढ बनाउन सकिने विश्वास व्यक्त गरे।
लामिछानेले नेपाल र भारतका नागरिकको साझा समृद्धिका लागि देखिएका सम्भावनालाई व्यवहारमा रूपान्तरण गर्न रास्वपा प्रतिबद्ध रहेको बताउँदै उनले आपसी विश्वास, विकास र साझेदारीमा आधारित सम्बन्धले दुवै देशलाई लाभ पुग्ने उल्लेख गरे।



प्रतिक्रिया दिनुहोस्