राजनीतिक निकासका लागि मात्र गठन भएको थियो तत्कालीन सरकार : पूर्वमन्त्री सिन्हा


काठमाडौँ । पूर्वमन्त्री अनिलकुमार सिन्हाले भदौ २३–२४ को राजनीतिक घटनापछि गठन भएको तत्कालीन अल्पकालीन सरकारको मुख्य उद्देश्य मुलुकलाई राजनीतिक निकास दिनु रहेको बताए।

उनले सरकारको ध्यान राजनीति गर्नुभन्दा पनि समयमै निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित निर्वाचन सम्पन्न गराई लोकतान्त्रिक प्रक्रिया स्थापित गर्नेतर्फ केन्द्रित रहेको स्मरण गरे। तत्कालीन प्रधानमन्त्रीको निर्देशनअनुसार निर्वाचन आयोग, राजनीतिक दल, सुरक्षा निकाय र अर्थ मन्त्रालयबीच समन्वय गरी निर्वाचनको तयारी अघि बढाइएको उनको भनाइ थियो।

सिन्हाले आयोग पूर्ण नरहे पनि प्रस्तुत गरिएको कार्ययोजना परिपक्व रहेको, राजनीतिक दलहरूले निर्वाचनमा सहमति जनाएको तथा तत्कालीन अर्थमन्त्री रामेश्वर खनालले आवश्यक बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाएको उल्लेख गरे।

उहाँले निर्वाचनमा मितव्ययिता अपनाउँदै स्थानीय उत्पादनको अधिकतम प्रयोग गरिएको तथा विषम परिस्थितिमा पनि नेपाल प्रहरी, नेपाली सेना र जिल्ला प्रशासनका कर्मचारीहरूले सफल निर्वाचनका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै आभार व्यक्त गरे।