काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल भारत लागेका छन् । भारतीय विदेशमन्त्री एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा खनाल दिल्ली प्रस्थान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री डा. जयशंकरसँग औपचारिक भेटवार्ता गर्नेछन् । भेटमा व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा जनस्तरका सम्बन्धलगायत द्विपक्षीय हितका विविध विषयमा छलफल हुने जनाइएको छ ।
भारत प्रस्थान गर्ने क्रममा परराष्ट्रमन्त्री खनालले लामो समयपछि हुन लागेको भ्रमणमा मुलुकको हितका विषयमा छलफल हुने बताए । नयाँ सरकारको प्राथमिकताका विषयमा पनि भारतसँग छलफल हुने उनको भनाइ छ ।
नेपाल र भारतबीच नियमित रूपमा हुने उच्चस्तरीय भ्रमण आदानप्रदानको सिलसिलाअन्तर्गत यो भ्रमण भएको उनले बताए। परराष्ट्रमन्त्री खनाल जेठ २४ गते काठमाडौँ फर्कने भ्रमण तालिका रहेको छ।



प्रतिक्रिया दिनुहोस्