नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता, व्यापारदेखि ऊर्जा सहकार्यसम्म छलफल


काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री एस जयशङ्कर बीच शनिबार नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ।

भेटमा नेपाल–भारत सम्बन्धका विविध आयामबारे छलफल गर्दै दुवै पक्षले सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

भेटवार्ताका क्रममा व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा, विकास साझेदारी तथा जनस्तरका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको थियो। परराष्ट्रमन्त्री खनालले नेपालले भारतसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै नयाँ सरकारले सुशासन, आर्थिक रूपान्तरण र परिणाममुखी कूटनीतिलाई अघि बढाइरहेको बताए।

उनले नेपाल–भारत सम्बन्धलाई ऐतिहासिक तथा सभ्यतागत आधारबाट आधुनिक विकास साझेदारीमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याए।

विदेशमन्त्री जयशङ्करले भारत र नेपालबीचको सम्बन्ध साझा संस्कृति, धार्मिक परम्परा, खुला सीमा र बलियो जनस्तरको सम्बन्धमा आधारित रहेको बताए। उनले व्यापार, ऊर्जा, शिक्षा, विकास सहकार्य र विपद् व्यवस्थापनका क्षेत्रमा भइरहेको सहकार्यलाई अझ विस्तार गर्दै स्टार्टअप, कृत्रिम बौद्धिकता, सूचना प्रविधि र नवीकरणीय ऊर्जाजस्ता नयाँ क्षेत्रमा समेत साझेदारी बढाउन सकिने धारणा राखे।

दुवै मन्त्रीले आवश्यकताको समयमा एकअर्कालाई सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा उच्चस्तरीय भ्रमण तथा राजनीतिक संवादमार्फत सम्बन्धलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका थिए।

परराष्ट्रमन्त्री खनाल विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा जेठ २२ देखि २४ गतेसम्म भारतको औपचारिक भ्रमणमा रहेका छन्। भ्रमणका क्रममा उनले विभिन्न राजनीतिक तथा कूटनीतिक भेटघाटसमेत गरेका छन्।

उनी भ्रमण सम्पन्न गरी आइतबार काठमाडौं फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।