२ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आइजिपी कार्की



काठमाडाैँ । प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले देशभरका २६३ स्थायी प्रहरी चौकी जिर्ण अवस्थामा रहेको बताएका छन् ।

राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा भएको बोल्दै आइजिपी कार्कीले जिर्ण रहेका प्रहरी चौकीको पुनर्निर्माणका लागि बजेट नभएको समेत बताए ।

सीमावर्ती तथा संवेदनशील क्षेत्रका कतिपय प्रहरी चौकी भत्किने अवस्थामा पुगेको उल्लेख गर्दै उनले प्रहरी कर्मचारीहरू जोखिमपूर्ण संरचनामा काम गर्न बाध्य रहेको बताए ।

चौकी नै लडेर केही दुर्घटना होला कि भन्ने चिन्ता रहेको उनकाे भनाई छ । अस्थायी चौकीहरूको कति जिर्ण छन् भन्ने यकिन हिसाब नै नरहेको र संघीय मामिला तथा स्थानीय तहको समन्वयमा जिर्ण चौकीहरूको निर्माण हुनसके प्रहरी कर्मचारीहरूले ड्युटीपछि न्युनतम मानवीय सुविधा पाउने अवस्था सिर्जना हुने आइजिपी कार्कीकाे भनाइ छ ।

उनले भने,“हामीले अहिले २ सय ६३ वटा जिर्ण स्थायी चौकीहरुको जिर्ण भएका छन्, अस्थायीको त हिसाबै भएन । जिर्ण भएका चौकीहरुको संघीय मामिला अन्तर्गत स्थानीय तहबाटै बन्ने स्थिति सिर्जना भइदियो भने हाम्रा मान्छेहरु दिनभर ड्युटी गरेपछि बेलुकी एकछिन आम नागरिक जस्तै मानविय रुपमा स्वभाबिक किसिमले बस्न पाउँछन् की भन्ने अपेक्षा छ ।”

आइजिपी कार्कीले अस्थायी प्रहरी चौकी माग भएका स्थानमा प्रहरीले संवेदनशीलतापूर्वक काम गरिरहेको जानकारी दिए । अत्यावश्यक स्थानहरूमा तत्काल प्रहरी परिचालन गर्ने गरिएको उनकाे भनाई छ ।