काठमाडौँ । २०८३ बैशाख महिनामा २ खर्ब ५७ अर्ब ४९ करोड रूपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह एक खर्ब ६५ अर्ब ३० करोड रूपैयाँ भित्रिएको थियो ।
चालू आर्थिक वर्ष २०८२ ८३ को दश महिनामा विप्रेषण आप्रवाह ४१.२ प्रतिशतले वृद्धि भएको छ । यो अवधिमा १९ खर्ब १६ अर्ब ९० करोड रूपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १३.३ प्रतिशतले बढेको थियो ।
यस अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३३.० प्रतिशतले वृद्धि भई १३ अर्ब २६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.६ प्रतिशतले बढेको थियो ।
खुद द्वितीय आय (खुद ट्रान्सफर) २० खर्ब ९१ अर्ब ८६ करोड रूपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १४ खर्ब ८० अर्ब २८ करोड रहेको थियो ।
यो १० महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ३ लाख ३५ हजार ५१० र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख २६ हजार ३६४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ४ लाख ५ हजार ६१० र २ लाख ८० हजार ३१४ रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्