काठमाडाैँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूमाथि लागेका भ्रष्टाचारका आरोपहरूको प्रतिवाद गर्दै अनियमितता प्रमाणित भए पद त्याग गर्ने घोषणा गरेका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा उनले प्रश्न उठाउने सांसदहरूका पुराना काण्डहरू समेत सार्वजनिक हुने चेतावनी दिएका छन् । अर्थ मन्त्रालयमा बसेर करका दरमार्फत निश्चित व्यापारीलाई पोसेको भन्ने आरोपको खण्डन गर्दै उनले आफूमाथि लागेको २ अर्बको आशङ्का निराधार रहेको दाबी गरे ।
उनले सार्वजनिक लेखा समितिमा समेत आफू विरुद्ध आएका समाचारहरूको खण्डन गरेको उल्लेख गर्दै जनताले सुशासनका लागि दिएको मतको अपमान नगर्ने प्रतिवद्धता व्यक्त गरे । सुशासनको कठोर प्रतिवद्धतासहित आएको दुई महिनामै जनतालाई धोका दिन नसकिने जिकिर गर्दै उनले आफूमाथि औंलो ठड्याउनेहरूलाई पनि नैतिक उचाइ कायम राख्न चुनौती दिए । उनले आफ्नो बारेमा प्रश्न उठाउने सांसदहरुलाई तपाईंहरुको पनि काण्डहरु थाहा नभएको हो ? भन्दै प्रश्न समेत गरे ।
उनले भने, “अहिलेको बहुचर्चित विषय–स्वर्णिम वाग्लेले कुटु–कुटु अर्थ मन्त्रालयमा बसेर करका दर चलाएर व्यापारी पोस्यो । भन्ने खालका कुरा पनि सुनिए । सांसदहरूले आफ्नो गरिमा आफैं राख्नुपर्छ । हामी यस सम्मानित सदनको ओज घटाउने कामतर्फ लाग्नु हुँदैन । सुशासनको निर्मम एजेन्डा लिएर अगाडि बढेको, सुशासनप्रतिको कठोर प्रतिबद्धतालाई जनताले अनुमोदन गरेको दुई महिनामै हामी जनतालाई धोका दिन सक्छौं र ? सक्दैनौं । मैले आज सार्वजनिक लेखा समितिमा पनि भनेँ, एक–दुईवटा खोस्टाहरूले २ अर्बको आशंका इत्यादि भनेर लेखे। तर २ अर्ब होइन, २ रुपैयाँको बदमासी वा बेइमानी मबाट भएको छ भने म मन्त्री पद त्यागिदिन्छु । सार्वजनिक जीवन नै त्याग्न पनि म तयार छु । यही नैतिक आँट र यही नैतिक उचाइ मप्रति औँलो ठड्याउने माननीयज्यूहरूलाई पनि प्राप्त होस्, शुभकामना छ । तपाईंका काण्डका बारेमा हामी अनभिज्ञ छैनौं, ती पनि खुल्नेछन् ।”
अर्थमन्त्री वाग्लेले सुशासनको निर्मम एजेन्डा लिएर अगाडि बढेको बताउँदै व्यक्तिगत लाञ्छना लगाउनुअघि तथ्यमा आधारित हुन आग्रह समेत गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्