विश्वबजारमा तेलको मूल्यमा लगातार गिरावट


काठमाडौँ । तेलको मूल्य लगातार चौथो दिन पनि घटिरहेको छ ।

अमेरिकी कांग्रेसको निर्वाचनमा डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले अपेक्षाभन्दा कमजोर नतिजा व्यहोरेपछि इरानसँगको युद्ध थप चर्किने जोखिम कम हुन सक्ने अनुमानले बजारमा दबाब परेको अन्तराष्ट्रिय सञ्चारमाध्यमको विश्लेषण छ ।

अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य ९४ डलरमा झरेको छ । विश्लेषकहरूका अनुसार निर्वाचनमा कमजोर बनेका ट्रम्पले अब विपक्षी डेमोक्र्याटहरूको प्रभाव रहेको कांग्रेससँग काम गर्नुपर्ने अवस्था आउन सक्छ ।

डेमोक्र्याटहरूको नियन्त्रण वा प्रभाव बढेमा सैन्य कदम चाल्न ट्रम्पको विकल्प सीमित हुन सक्ने भएकाले इरानसँग तनाव थप बढाउनुको साटो कूटनीतिक समझदारी वा सम्झौतामा पुग्ने सम्भावना बढेको आकलन गरिएको छ ।

यही अपेक्षाका कारण मध्यपूर्वमा आपूर्ति अवरोध र युद्धको जोखिमसँग जोडिएको ‘भूराजनीतिक प्रिमियम’ घट्दै जाँदा अन्तर्राष्ट्रिय तेल बजारमा बिक्री दबाब बढेको र मूल्य निरन्तर ओरालो लागेको विश्लेषण गरिएको छ ।