लगानी बोर्डको सिइओेका लागि आवेदन आह्वान


काठमाडौँ । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओे) पदका लागि आवेदन आह्वान गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको प्रमुख कार्यकारी अधिकृत सिफारिस समितिको सचिवालयले आज सूचना प्रकाशित गर्दै निवेदन माग गरेको हो ।

सिइओका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, वाणिज्य, कानुन, इन्जिनियरिङ वा विकाससम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख छ । साथै परियोजना विकास, सार्वजनिक खरिद, सार्वजनिक–निजी साझेदारी, लगानी प्रवर्धन, विकास प्रशासन, बैंकिङ, वित्तीय क्षेत्र वा औद्योगिक व्यवस्थापनलगायत क्षेत्रमा कम्तीमा १० वर्ष व्यवस्थापकीय तहको अनुभव खोजिएको छ ।

उमेर निवेदन दिने अन्तिम मितिसम्म ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ ।

विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिएको भए आवेदन दिनुभन्दा कम्तीमा तीन महिना अघि त्यस्तो अनुमति त्याग गरेको प्रमाणसमेत पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।