लेखा समितिमा अर्थमन्त्रीको अभिव्यक्तिलाई लिएर विवाद, सांसदबीच चर्काचर्की


काठमाडौँ । सार्वजनिक लेखा समितिको शुक्रबारको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्ले को अभिव्यक्तिलाई लिएर हंगामा भएको छ।

पूर्वअर्थमन्त्री तथा वर्षमान पुन ले अर्थमन्त्रीले समितिको मर्यादाविपरीत सांसदहरूलाई ‘हेप्ने र धम्की दिने’ शैलीमा अभिव्यक्ति दिएको आरोप लगाए। उनले “अघिल्लाले धेरै गल्ती गरे, मैले कम गरेँ” भन्ने तर्क स्वीकार्य नहुने भन्दै समितिले गम्भीर रूपमा लिनुपर्ने बताए। समितिको मानमर्दन हुने व्यवहार दोहोरिए आफूहरू समितिमा बस्ने–नबस्नेबारे पनि सोच्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ थियो।

यसको प्रतिवाद गर्दै सत्तापक्षका सांसद गणेश पराजुली ले पुनको भनाइलाई ‘चित्त दुःखाइ र दुखेसो’को संज्ञा दिए। उनले प्रतिपक्ष र सत्तापक्ष दुवैले जिम्मेवार ढंगले काम गर्नुपर्ने भन्दै धम्की र अवरोधले समाधान नदिने बताए।

विवादपछि समितिका सभापति भरतबहादुर खड्का ले विषयप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै आवश्यक परे पछि थप छलफल गरिने बताए।