विपी राजमार्ग मुख्य सडक किनाराबाट यातायात सञ्चालनको तयारी


काठमाडाैँ । गत असोजमा आएको विनाशकारी बाढीले क्षतिग्रस्त बनेको विपी राजमार्गको भकुण्डेवेशी–नेपालथोक खण्डमा असार १५ गतेभित्रै सडक किनाराबाट यातायात सञ्चालन गर्ने तयारी गरिएको छ ।

सडक डिभिजन भक्तपुरले वर्षायाममा खोलाको डाइभर्सनले दुख दिने अवस्थालाई मध्यनजर गर्दै मुख्य निर्माणधिन सडकबाटै सवारी साधन सुचारु गर्न लागेको हो ।

सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशकाअनुसार, सामान्य वर्षा हुँदा पनि अहिलेको डाइभर्सन बगाएर सडक अवरुद्ध भइरहेकोले वर्षाअघि नै माथिल्लो भागबाट सवारी सञ्चालन गर्ने गरी कामलाई तिब्रता दिइएको छ ।

आफूहरुको मुख्य लक्ष्य वर्षायाममा खोलाबाट डाइभर्सन दिएर नभई, स्थायी संरचनामार्फत  यातायात सञ्चालन गर्ने रहेको बताए । उनका अनुसार जेठ मसान्तसम्म महत्वपूर्ण संरचनाहरू सम्पन्न हुनेछन् र असारदेखि सवारी साधन मुख्य सडक संरचनाको किनाराबाट गुड्नेछन् ।

योगेशले भने, “कटिङ, मेसनरी वाल तथा अन्य केही कामहरूमा ध्यान अलि कम पुगेको हुनसक्छ । तर यस वर्षको प्रमुख लक्ष्य भने सन्तोषजनक रूपमा अघि बढिरहेको छ । मेरो अनुमानमा जेठ महिनाको अन्त्यसम्म ती सबै महत्वपूर्ण संरचनाहरू सम्पन्न हुनेछन् र असारदेखि सवारी साधनहरू माथिबाटै सञ्चालन गर्न सकिने अवस्था बन्नेछ । केही खण्डमा त अहिले पनि बाढी आएर आवागमन प्रभावित हुँदा वैकल्पिक रूपमा माथिबाटै यातायात सञ्चालन गर्ने व्यवस्था मिलाइसकिएको छ ।”

निर्माण व्यवसायीका प्रतिनिधि उत्तम ढुंगेलले रातदिन काम गरेर असार १५ भित्रै सडक सञ्चालन गर्ने लक्ष्य रहेको बताए । उनकाअनुसार बक्सिगुना खण्डको २३० मिटरमध्ये अब ७० मिटर मात्र बाँकी छ । आगामी ४–५ दिनमै त्यसलाई सवारी चलाउन सकिने गरी निर्माण भइरहेको छ । बाढीले तीन पटकसम्म क्षति पु¥याए पनि हाल सामग्री र जनशक्तिको अभाव नरहेको उनको भनाइ छ ।

ढुंगेलले भने, “हाम्रो अहिलेको भौतिक प्रगति करिव ३० प्रतिशतको हाराहारीमा पुगेको छ । वित्तीय प्रगति २४–२५ प्रतिशत पुगेको छ भने भौतिक प्रगति ३०–३१ प्रतिशत पुगेको छ । यस परियोजनाका लागि आवश्यक जनशक्ति तथा सामग्री स्रोतहरू सबै साइटमा उपलब्ध छन् । बाेक्सिकुना खण्ड हाम्रो परियोजनाको सबैभन्दा संवेदनशील खण्ड हो । यस खण्डको कुल लम्बाइ २३० मिटरमध्ये अहिले ७० मिटर मात्र बाँकी छ । माथिबाट यातायात सञ्चालन गर्ने तथा अर्को तह (लिफ्ट) को कामका लागि यही ७० मिटर खण्डमा काम भइरहेको छ । हामीलाई अब करिव ४–५ दिनको समय लाग्ने अनुमान छ । त्यसपछि आवश्यक परेमा आपत्कालीन अवस्थामा माथिबाटै सवारीसाधन सञ्चालन गर्न सकिने गरी मार्ग खुला गरिन्छ । साथै, आगामी १५ दिनभित्र अर्को तहको काम सम्पन्न गरी यस खण्डलाई सुरक्षित रूपमा सञ्चालन गर्ने हाम्रो लक्ष्य छ । अन्य समस्याहरू भने यहाँ खासै छैनन् । तर बाढीका कारण यही खण्डमा करिब तीन पटक क्षति पुगेको थियो । ती क्षतिबाट उन्मुक्ति पाउन र पुनः निर्माण कार्यलाई पूर्ववत अवस्थामा ल्याउन करिव १५–२० दिन लाग्यो । यसले परियोजनाको प्रगतिलाई झन्डै एक महिना पछाडि धकेल्यो । आवश्यक सबै निर्माण सामग्री तथा स्रोतहरू पर्याप्त मात्रामा उपलब्ध छन् । काम गर्ने वातावरण पनि अनुकूल र सहज छ । वर्षायामलाई मध्यनजर गर्दै हामीले विभिन्न स्थानमा कफरड्याम निर्माण गरी आवश्यक पूर्वतयारी गरेका छौँ । त्यसैले सामान्य खालको बाढीले खासै असर पार्दैन तर अत्यधिक वर्षा भई ठूलो बाढी आउने अवस्था सिर्जना भयो भने हामी थप शतर्क भई आवश्यक तयारी तथा व्यवस्थापन प्रक्रियामा निरन्तर सक्रिय रहनेछौँ ।”

२०८१ असोज १२ र १३ गतेको बाढीले पूर्ण रूपमा क्षतिग्रस्त भएको भकुण्डेबेँसीदेखि नेपालथोकसम्मको २९ किलोमिटर सडक खण्डलाई तीन भागमा विभाजन गरेर ठेक्का लगाइएको छ । पहिलो खण्डमा भकुण्डेबेँसीदेखि चारसयबेँसी ११.८ कि.मीको काम चलिरहेको छ । नवकान्तिपुर लामा जेभीले काम गरिरहेको यस खण्डको भौतिक प्रगति ३० प्रतिशतभन्दा बढी छ ।

दोस्रो खण्ड चारसयबेँसीदेखि डालाबेशी ८.५ कि.मी हो । यसमा कमलजीत एवान जेभीले काम गरिरहेको छ ।

यस्तै, तेस्रो खण्ड अन्तर्गत डालाबेँसीदेखि वर्खेखोलासम्म जापानी सहयोग नियोग (जाइका) ले निर्माण गरिरहेको छ भने वर्खेखोलादेखि नेपालथोकसम्मको ४ किलोमिटर खण्डमा नेपाली निर्माण कम्पनीले काम गरिरहेको छ । पुनर्निर्माणसँगै विपी राजमार्गको यो खण्ड अब ‘इन्टरमिडिएट लेन’ बाट स्तरोन्नति भई पूर्ण दुई लेनको मानक सडक बन्ने भएको छ ।

डिभिजन प्रमुख योगेशका अनुसार अब सडकको चौडाइ न्युनतम ९ मिटर हुनेछ, जसमा ७ मिटर मुख्य दुई लेन र दुवैतर्फ १–१ मिटरका पक्की सोल्डर रहनेछन् । सुरुवाती डिजाइनमा सानो सवारी चापको अनुमान गरिए पनि अहिलेको आवश्यकतालाई हेरेर सडक विस्तार गर्न लागिएको सडक डिभिजन भक्तपुरले जानकारी दिएको छ ।