विद्यार्थी पलायनका कारक र परिणति


पछिल्लो समय नेपालको शिक्षा क्षेत्रले भौतिक पूर्वाधार र पहुँचका दृष्टिले विकासको गति समाते पनि अपेक्षित उपलब्धि र गुणस्तरको कसीमा भने अझै खरो उत्रन सकेको छैन । हाम्रा शैक्षिक योजनाहरू कागजमा जति सुन्दर देखिन्छन्, कार्यान्वयनको तहमा आइपुग्दा ती कताकता हराएझैँ भान हुन्छ ।

विशेष गरी, युवा विद्यार्थीहरूमा देखिएको विदेश पलायन हुने तीव्र इच्छाले हाम्रो राष्ट्रिय चिन्ता मात्र बढाएको छैन, बरु हाम्रो शिक्षा प्रणालीले दिनुपर्ने ‘भविष्यको भरोसा’ माथि पनि प्रश्न खडा गरेको छ । यदि हामीले स्वदेशमै पर्याप्त अवसर, औद्योगिक वातावरण र नवप्रवर्तनका सम्भावनाहरूको ढोका खोल्न सक्यौँ भने शिक्षा क्षेत्रमा हामीले राखेको राष्ट्रिय लक्ष्य प्राप्ति किमार्थ असम्भव छैन ।

नेपाली शिक्षा प्रणाली कमजोर छ वा यहाँ पढेर केही हुँदैन भन्ने एउटा भ्रम समाजमा व्याप्त छ, जुन पूर्णतया निराधार र पूर्वाग्रही देखिन्छ । वास्तविकतालाई नजिकबाट नियाल्ने हो भने हाम्रा पाठ्यक्रमहरू र शिक्षण पद्धतिहरू समयको पदचापसँगै परिमार्जन र परिष्कृत हुँदै गइरहेका छन् । समस्या शिक्षाको स्तरमा भन्दा बढी हाम्रो सामाजिक र पारिवारिक मानसिकतामा छ ।

विद्यार्थीहरूले विद्यालय वा कलेजलाई केवल एउटा ‘डिग्री’ लिने थलोको रूपमा मात्र हेर्नुहुँदैन । उनीहरूमा ‘म यहाँ केही सिक्दैछु, सिप हासिल गर्दैछु र भोलिको प्रतिस्पर्धी बजारका लागि आफूलाई तयार गर्दैछु’ भन्ने स्पष्ट उद्देश्य हुनुपर्छ । अर्कोतर्फ शिक्षण संस्थाका सञ्चालकहरूले पनि विद्यार्थीलाई केवल ‘ग्राहक’ का रूपमा मात्र नहेरी उनीहरूको उज्ज्वल भविष्यको शिल्पकारका रूपमा आफूलाई उभ्याउनुपर्छ । जब शिक्षण संस्था र विद्यार्थी दुवैको उद्देश्य व्यावसायिक र इमानदार हुन्छ, तब मात्र शिक्षा क्षेत्रको जग बलियो बन्दछ ।

पलायनको मुख्य कारण

आजका विद्यार्थीहरूले नेपालभन्दा विदेशमा अवसर देख्नुको पछाडि शैक्षिक गुणस्तर मात्रै कारण होइन । यसको गहिराइमा पुग्दा सरकारी नीति र नियमहरूको चरम अस्थिरता प्रमुख दोषी देखिन्छ । आज एउटा नियम बन्छ, भोलि अर्को । कुन बेला कुन नीति परिवर्तन हुन्छ र आफ्नो भविष्यमा धक्का लाग्छ भन्ने अन्योलले गर्दा युवाहरूमा गहिरो असुरक्षाको भावना पैदा भएको छ ।

विदेशमा गएर १६ घण्टा कठोर श्रम गर्दा प्रतिफल प्राप्त हुन्छ र जीवन सुरक्षित हुन्छ भन्ने एउटा बलियो धारणा युवा पुस्तामा घर गरेको छ । उनीहरूको प्रश्न छ—जब दुःख नै गर्ने हो भने, स्थायित्व नभएको र अवसरको सुनिश्चितता नभएको नेपालमा किन गर्ने ? यो मानसिकताले नै आजको ऊर्जाशील जनशक्तिलाई बाहिर धकेलिरहेको छ । यो समस्या समाधान गर्न कुनै एक व्यक्ति, कलेज वा संस्थाको प्रयासले मात्र पुग्दैन ।

यसका लागि ठोस राज्यनीतिको आवश्यकता छ । ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) वितरण गर्ने प्रक्रियालाई मात्र व्यवस्थित गरेर पुग्दैन, बरु कुन विषयमा कस्तो जनशक्ति आवश्यक छ र तिनीहरूलाई स्वदेशमै कसरी टिकाउने भन्नेमा सरकारले ’रोडम्याप’ तयार गर्नुपर्छ ।

लगानी, शुल्क र सामाजिक दृष्टिकोण

शिक्षा क्षेत्रमा हुने लगानी र विद्यार्थीबाट लिइने शुल्कलाई लिएर नेपाली समाजमा सधैँ एउटा नकारात्मक भाष्य निर्माण गर्ने गरिएको छ । निजी क्षेत्रका शैक्षिक संस्थाहरूले विश्वस्तरीय भौतिक पूर्वाधार, अत्याधुनिक प्रयोगशाला र दक्ष जनशक्ति व्यवस्थापनमा अर्बौँ लगानी गरेका हुन्छन् ।

यस्तो लगानीको प्रतिफल खोज्दा र गुणस्तरीय शिक्षाका लागि उचित शुल्क तोक्दा प्रायः ‘शैक्षिक माफिया’ वा ‘लुटतन्त्र’ जस्ता आरोपहरू लाग्ने गर्छन् ।

यो बुझ्न जरुरी छ कि शिक्षामा गुणस्तर कायम राख्न ठुलो लगानीको खाँचो हुन्छ । कलेजहरूले शुल्क र गुणस्तरका बारेमा पहिले नै पारदर्शिता अपनाउनुपर्छ भने समाजले पनि शिक्षालाई एउटा उद्योग र राष्ट्र निर्माणको मेरुदण्डका रूपमा फराकिलो सोचका साथ हेर्नुपर्छ । कुनै पनि संस्थाले विद्यार्थीलाई ठगेर वा लुटेर लामो समयसम्म टिक्न सक्दैन भन्ने कुरा बजारको प्रतिस्पर्धाले नै प्रमाणित गरिसकेको छ ।

व्यावसायिक परामर्शको अभाव

नेपाली शैक्षिक बजारमा अहिले एउटा अनौठो ट्रेन्ड देखिएको छ । विद्यार्थीलाई कुन विषय पढ्दा कस्तो भविष्य हुन्छ र बजारको माग के छ भन्नेबारे सही परामर्श दिन हामी चुकिरहेका छौँ । कोभिड–१९ पछि सूचना प्रविधिको क्षेत्रमा एउटा लहर नै चलेको छ । धेरैलाई लाग्छ कि आइटी पढेपछि तुरुन्तै धेरै पैसा कमाइन्छ र विदेश जाने बाटो सजिलो हुन्छ ।

तर सिक्काको अर्को पाटोलाई हेर्ने हो भने अहिले नेपाली बजारमा मनोविज्ञान, अर्थशास्त्र, समाजशास्त्र र गणित जस्ता आधारभूत विषयका विज्ञहरूको ठुलो अभाव छ । कतिपय पुराना र महŒवपूर्ण विषयका कक्षाहरू विद्यार्थी नभएर बन्द हुने अवस्थामा पुगेका छन् । कलेजहरूले पनि आफ्ना कार्यक्रम मात्र राम्रो भन्नुको सट्टा विद्यार्थीको रुचि र बजारको वास्तविक आवश्यकताबिच तालमेल मिलाइदिने व्यावसायिक परामर्शदाताको भूमिका खेल्नुपर्छ ।

व्यवहारिक शिक्षा र विश्वविद्यालयको भूमिका

विगत लामो समयसम्म हाम्रो पाठ्यक्रम सैद्धान्तिक ज्ञानको वरिपरि मात्र घुमिरह्यो । किताब पढेर परीक्षा पास गर्ने र प्रमाणपत्र लिने तर कार्यथलोमा जाँदा कुनै सिप नहुने समस्याले गर्दा शिक्षित बेरोजगारहरूको सङ्ख्या बढ्यो तर अहिले सुखद पक्ष के छ भने धेरै विश्वविद्यालय र निजी कलेजहरूले व्यवहारिक र प्रयोगात्मक शिक्षालाई आत्मसात गर्न थालेका छन् ।

अहिलेको पाठ्यक्रममा इन्टर्नसिप, फिल्ड भिजिट र प्रोजेक्ट वर्कहरूलाई अनिवार्य गरिएको छ । विद्यार्थीले कक्षाकोठामा पढेको कुरालाई व्यवहारमा उतार्न सक्ने क्षमता विकास गरिरहेका छन् । यो परिवर्तनले विद्यार्थीलाई बजारमा बिक्न सक्ने जनशक्तिका रूपमा तयार गर्दैछ । सैद्धान्तिक मात्र भयो भन्ने आरोपलाई चिर्दै शिक्षा प्रणाली अब सिपमूलक बन्दै जानु सकारात्मक सङ्केत हो ।

चुनौतीभित्र लुकेका अवसरहरू

नेपाली शिक्षा क्षेत्रका अगाडि अनगिन्ती चुनौती छन् तर तिनै चुनौतीभित्र ठुला अवसरहरू पनि लुकेका छन् । सबैभन्दा ठुलो चुनौती भनेको विद्यार्थीको ‘सर्टिफिकेट मात्रै खोज्ने तर पढ्न नखोज्ने’ प्रवृत्ति हो । अर्कोतर्फ, अभिभावकहरूमा ‘शुल्क तिरिसकेपछि अब सबै जिम्मेवारी कलेजको हो’ भन्ने एकतर्फी सोच छ ।

शिक्षा भनेको त्रिकोणात्मक सम्बन्ध हो— जहाँ विद्यार्थी, अभिभावक र शिक्षकको समान भूमिका हुन्छ । विद्यार्थीमा प्रश्न गर्ने क्षमता र जिज्ञासु स्वभाव भयो भने शिक्षकहरू पनि आफूलाई अपडेट गर्न बाध्य हुन्छन् । जब विद्यार्थीमा जोश र जाँगर हुन्छ तब मात्र शिक्षण संस्थाले आफ्नो उद्देश्य प्राप्ति गर्न सक्छ । यसका साथ विद्यार्थी सङ्गठनहरूले पनि दलीय राजनीतिको छायाँबाट मुक्त भएर शैक्षिक मुद्दा, गुणस्तर र विद्यार्थीको हकहितमा मात्र केन्द्रित हुनुपर्ने आजको आवश्यकता हो ।

नेतृत्वको निर्णायक क्षमता र टिमवर्क

कुनै पनि शैक्षिक संस्थाको सफलता त्यसको नेतृत्वमा निर्भर गर्छ । एक सफल प्रमुख कार्यकारी अधिकृत (सिइओ) वा नेतृत्वकर्तामा सही समयमा सही निर्णय गर्ने क्षमता हुनुपर्छ । नेतृत्व भनेको आदेश दिनु मात्र होइन, बरु सामुहिक कार्यको भावना जागृत गराउनु हो ।

संस्थाभित्र ‘सही ठाउँमा सही व्यक्ति’ छनोट गर्न सक्नु नै व्यवस्थापकीय कौशलता हो । नेतृत्व तहमा बस्नेले आफ्ना कर्मचारीहरूलाई ‘बोस’ र ‘कामदार’ को रूपमा नभई लक्ष्य प्राप्तिका साझेदारका रूपमा हेर्नुपर्छ । प्रभावकारी सञ्चार र सुमधुर मानवीय व्यवहारले नै संस्थालाई जीवन्त राख्छ । जब कर्मचारी र शिक्षकहरूले संस्थामा आफ्नो भविष्य सुरक्षित र सम्मानित महसुस गर्छन् तब मात्र उनीहरूले विद्यार्थीलाई उत्कृष्ट शिक्षा प्रदान गर्न सक्छन् ।

अबको बाटो

नेपालको शिक्षा क्षेत्रलाई साँच्चै बलियो बनाउने हो भने हामीले केही आधारभूत सुधारहरू गर्नैपर्छ । पहिलो, सरकारले नीतिगत स्थायित्व र लगानी सुरक्षाको प्रत्याभूति दिनुपर्छ । दोस्रो, शैक्षिक संस्थाहरूले नाफा मात्र नहेरी गुणस्तर र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राख्नुपर्छ र तेस्रो, विद्यार्थी तथा अभिभावकहरूले शिक्षालाई प्रमाणपत्र आर्जन गर्ने माध्यम मात्र नभई जीवन उपयोगी सिप सिक्ने अवसरका रूपमा बुझनुपर्छ ।

नेपालमा सम्भावना नभएको होइन, केवल सम्भावनालाई अवसरमा बदल्ने दृढ इच्छाशक्तिको खाँचो हो । यदि हामीले हाम्रा युवा जनशक्तिलाई स्वदेशमै भविष्यको ग्यारेन्टी दिन सक्यौँ भने शिक्षा क्षेत्रको विकाससँगै समृद्ध नेपालको सपना पनि साकार हुनेछ । शिक्षाको उज्यालोले नै अज्ञानता र निराशाको अन्धकारलाई चिर्न सक्छ र नेपाललाई विश्वकै उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा स्थापित गर्न सकिन्छ ।

(ऋतु न्यौपाने ट्रिटन इन्टरनेसनल कलेजकी प्रमुख कार्यकारी अधिकृत हुन् ।)

(टक्सार म्यागजिन, वर्ष ५ अङ्क १०, माघ २०८२ मा प्रकाशित)